कृष्णभीरको समस्या समाधान गर्न सुरुङमार्ग र वैकल्पिक सडकको अध्ययन गरिने, मन्त्रालयको ५ बुँदे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पटक–पटक आइपर्ने अवरोध हटाउन र राजमार्गलाई सुरक्षित रूपमा सञ्चालन गर्न सरकारले तत्काल र दीर्घकालीन योजना अघि बढाउने निर्णय गरेको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको समस्या समाधानका लागि विभिन्न पाँच बुँदे निर्णय गरेको हो ।

हालैको रसुवा बाढीका कारण काठमाडौं जोड्ने मुख्य राजमार्गको कृष्णभीर सडक खण्ड पहिरो झरेको थियो । त्यसयता यो राजमार्ग ठप्प छ ।

मन्त्रालयले जारी गरेको प्रेस नोट अनुसार विपद्को तत्काल सामना गर्न र राजधानीसँगको आपूर्ति शृङ्खलालाई पुनःस्थापना गर्न कृष्णभीरको ‘हिलसाइड’ मा ग्याबियन ब्रेस्ट वाल निर्माण गरी त्यसको माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना बनाइनेछ । नयाँ ट्र्याक खोल्ने कार्यसँगै सुरक्षाका लागि सेक्रिफिसियल ग्याबियन बक्स र बोल्डरहरू पहाडको माथिल्लो भागबाट तल खसाल्ने कार्यलाई पनि सँगसँगै अघि बढाइने मन्त्रालयले जनाएको छ ।

कृष्णभीरको समस्यालाई जरैदेखि समाधान गर्न सडक विभागले टनेल (सुरुङ), सोइल नेलिङ र सिट पाइल जस्ता आधुनिक विकल्पहरूको प्राविधिक अध्ययन गर्नेछ । यसका लागि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको सेवा लिइने र आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गरिने निर्णय भएको छ ।

त्यसैगरी, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडक व्यवस्था गर्ने मन्त्रालयको योजना छ ।

मन्त्रालयले पृथ्वी राजमार्गलाई निर्वाध रूपमा सञ्चालन गर्न यी निर्णयहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।