सुनको मूल्यमा उतारचढावका बीच साउनमा भित्रियो ५० किलो सुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला १५ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गतेसम्म आइपुग्दा बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो।

एक साताको अवधिमा सुनको मूल्यमा पटक–पटक उतारचढाव देखिएको थियो। साउन ३१ गते सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट भदौ १ गते पनि प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भई ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको थियो।

भदौ २ गते भने सुनको मूल्यमा कुनै परिवर्तन भएन। त्यसपछि भदौ ३ गते प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो।

तर, भदौ ४ गते सुनको मूल्यमा पुनः उल्लेख्य वृद्धि भयो। उक्त दिन मात्रै प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो। भदौ ५ गते शुक्रबार थप ३ हजार ३०० रुपैयाँले बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय तनावले सुन बजार प्रभावित

व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय घटनाक्रमसँगै आन्तरिक बजारको अवस्थाले पनि सुनको मूल्य प्रभावित भइरहेको बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका र इरानबीच होर्मुज जलमार्गलाई लिएर देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको माग तथा मूल्यमा प्रभाव पारेको छ।

इरान र ओमानबीच सम्झौताको तयारी भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि तथा होर्मुज जलमार्गसँग जोडिएको तनावले अन्तर्राष्ट्रिय सुन बजारमा असर देखिएको शाक्यको भनाइ छ।

यद्यपि, नेपाली बजारमा उपभोक्ताको क्रयशक्ति कमजोर रहेकाले सुनको माग अपेक्षाकृत बढ्न नसकेको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा सुनको सञ्चिति बढ्नु पनि मूल्य वृद्धिको अर्को कारण रहेको उनको भनाइ छ।

साउनमा ५० किलो सुन आयात

सुनको मूल्यमा तीव्र उतारचढाव भइरहेका बेला नेपालमा साउन महिनामा ५० किलो सुन आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको तथ्यांकअनुसार साउनमा ५० हजार ग्राम अर्थात् ५० किलो ‘फाइन गोल्ड’ नेपाल भित्रिएको हो।

उक्त परिमाणको सुन आयातका लागि १ अर्ब २ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको विभागको तथ्यांकले देखाएको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले प्रभावित भइरहेका बेला साउनको आयात तथ्यांकले नेपाली बजारमा सुनको आपूर्तिको अवस्थासमेत देखाएको छ।

तर, उपभोक्ताको क्रयशक्ति कमजोर रहनु र बजार मागमा देखिएको सुस्तताले आगामी दिनमा सुनको कारोबार प्रभावित हुन सक्ने व्यवसायीहरूको आकलन छ। बढ्दो मूल्यका कारण उपभोक्ताको खरिद क्षमता थप दबाबमा पर्ने भएकाले उच्च मूल्यको असर सुनको मागमा देखिन सक्ने उनीहरूको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।