काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको प्रधान कार्यालय (हेडक्वार्टर) निश्चित बिचौलियाहरूको कब्जामा रहेको गम्भीर आरोप लगाएका छन् ।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको खरिद प्रक्रियामा व्यापक अनियमितता भएको दाबी गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिन हुनुपर्ने माग गरे।
सांसद सुनारले यसअघि समितिको बैठकमा प्रहरीका स्रोत–साधन खरिदमा भएका बदमासीबारे १५ दिनभित्र कागजात माग गरे पनि अहिलेसम्म उपलब्ध नगराइएको बताए । ‘हामीले १५ दिनभित्र डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले प्रश्न गरे, ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। म आफ्नो प्रश्नमा अडिग र मजबुत छु।’
यसअघिको बैठकमा आईजीपीमाथि प्रश्न उठाएपछि सुनारको आलोचना भएको थियो । सोही विषयलाई लिएर प्रहरी नेतृत्वले गृहमन्त्री र सभामुखलाई समेत भेटेको चर्चाबीच सुनारले कडा चुनौती दिएका हुन् । उनले आफ्नो भनाइबाट कसैको मानमर्दन भएको लागेमा कानुनी उपचार खोज्न आग्रह गरे।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ सुनारले भने, ‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’
सांसद सुनारले संसदीय समितिको गरिमा कायम राख्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार र अनियमितताका विषयमा आफू पछि नहट्ने स्पष्ट पारे। उनले प्रहरीभित्रको खरिद प्रकरण र बिचौलियाको चलखेलबारे गम्भीर छानबिन हुनुपर्ने अडान दोहोर्याएका छन्।





Comment