काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रमा कर्जा प्रवाह सुस्त रहे पनि वाणिज्य बैंकहरूको सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये १४ बैंकको तथ्यांकले सञ्चालन नाफामा समग्र सुधार भएको देखाएको हो।
यी १४ बैंकको कुल सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ६७ अर्ब २६ करोड रुपैयाँबाट बढेर समीक्षा वर्षमा ८३ अर्ब ३० करोड ८ लाख रुपैयाँ पुगेको छ। यो २३.८५ प्रतिशतको वृद्धि हो। १४ मध्ये ११ बैंकको सञ्चालन नाफा बढ्दा तीन बैंकको नाफा घटेको छ।
कुमारी बैंकको सञ्चालन नाफा दोब्बरभन्दा बढी
सञ्चालन नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको सञ्चालन नाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ थियो।
सञ्चालन नाफाको आकारमा कुमारी बैंक अब नबिल बैंकको निकै नजिक पुगेको छ। यस्तै, सिटिजन्स बैंकले पनि उल्लेख्य सुधार गर्दै सञ्चालन नाफा ८१.२६ प्रतिशतले बढाएर ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब ९८ करोड ६९ लाख रुपैयाँ थियो।
नबिलको शीर्षता कायमै
सञ्चालन नाफाको कुल आकारमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकले समीक्षा वर्षमा ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँको तुलनामा २५.२२ प्रतिशत बढी हो।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि सञ्चालन नाफामा बलियो सुधार गरेको छ। बैंकको सञ्चालन नाफा ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।
सानिमा, एनएमबी, प्राइम र ग्लोबल आईएमईमा पनि सुधार
समीक्षा अवधिमा सानिमा बैंकको सञ्चालन नाफा ४४.४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। एनएमबी बैंकले २९.०६ प्रतिशतको वृद्धि हासिल गर्दै ६ अर्ब ११ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
त्यस्तै, प्राइम कमर्शियल बैंकको सञ्चालन नाफा २६.९४ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ। ग्लोबल आईएमई बैंकले पनि २०.०३ प्रतिशतको वृद्धि गर्दै ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।
नेपाल एसबीआई बैंकको सञ्चालन नाफा ६.२३ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा ३.७८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको सञ्चालन नाफा भने ०.४९ प्रतिशतले मात्र बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
कृषि विकास, हिमालयन र प्रभु बैंक दबाबमा
समीक्षा वर्षमा सबै बैंकको सञ्चालन नाफा भने बढ्न सकेन। कृषि विकास बैंकको सञ्चालन नाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।
हिमालयन बैंकको सञ्चालन नाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा झरेको छ। प्रभु बैंकको सञ्चालन नाफा १४.३४ प्रतिशतले घटेर १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकहरूको नाफामा देखिएको अन्तरको प्रमुख कारणमध्ये कर्जा असुली, निष्क्रिय कर्जा व्यवस्थापन तथा कर्जा नोक्सानी व्यवस्थापनका लागि गर्नुपर्ने प्रोभिजनलाई लिन सकिन्छ।
बैंकिङ क्षेत्रमा सुधारको संकेत
समग्र तथ्यांकले नेपाली बैंकिङ क्षेत्रमा अझै कर्जा माग र व्यवसाय विस्तारको चुनौती कायम रहे पनि बैंकहरूको सञ्चालन दक्षता र आम्दानीतर्फ सुधार देखिएको संकेत गरेको छ।
विशेषगरी सञ्चालन नाफामा भएको वृद्धि बैंकहरूको ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी, खर्च व्यवस्थापन र कर्जा असुलीको अवस्थासँग जोडिएको हुन्छ। त्यसैले सञ्चालन नाफामा आएको सुधारलाई मात्र आधार बनाएर बैंकिङ क्षेत्र पूर्णरूपमा संकटमुक्त भएको निष्कर्ष निकाल्न भने हतार हुनेछ।
तर अधिकांश बैंकले नाफा बढाउन सफल हुनु, ठूला बैंकहरूको सञ्चालन नाफामा सुधार आउनु र केही बैंकले दोहोरो अंकको उल्लेख्य वृद्धि हासिल गर्नुले बैंकिङ क्षेत्र क्रमशः सामान्य व्यावसायिक लयतर्फ फर्किंदै गएको संकेत भने गरेको छ।





Comment