काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) देखि काठमाडौंमा तीनदिने राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे सुरु हुने भेलाको उद्घाटन नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।
भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा संगठन सुदृढीकरण, पार्टीको भावी रणनीति, समसामयिक राजनीतिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ। साथै, नयाँ नीति तथा कार्यक्रम तय गर्ने तयारी पनि गरिएको छ।
आयोजकका अनुसार देशभरबाट करिब पाँच हजार नेता–कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। राष्ट्रिय भेलालाई संस्थापन इतर समूहको शक्ति प्रदर्शन तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यसैबीच, गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेर घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि बिहीबार स्वदेश फर्किएका उनलाई इतर समूहका नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।
विमानस्थलबाट देउवालाई बाजागाजासहित चुनदेवीस्थित कार्यालय पुर्याइएको थियो। त्यहाँ कार्यकक्षको बाहिर र चेम्बरभित्र उनको नामअघि ‘सभापति’ उल्लेख गरिएको बोर्ड राखिएको देखिएको छ।
इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा उक्त बोर्ड राखिएपछि राजनीतिक वृत्तमा यसको विशेष अर्थ र सन्देशबारे चर्चा सुरु भएको छ। यद्यपि, यसबारे पार्टीका तर्फबाट औपचारिक धारणा सार्वजनिक गरिएको छैन।
तीन दिनसम्म चल्ने भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।





Comment