आन्तरिक राजस्व विभागको नयाँ कर तालिका सार्वजनिक: कसलाई कति छुट, कति कर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्राकृतिक व्यक्तिको आयकर दर सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ बमोजिम व्यक्तिगत तथा दम्पत्ति करदाताका लागि लागू हुने नयाँ कर संरचना, छुट सुविधा तथा विभिन्न आयमा लाग्ने कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो।

विभागका अनुसार नयाँ व्यवस्था अनुसार एकल तथा दम्पत्ति दुवै करदाताको १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ। वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने करदाताले भने अधिकतम २९ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

नयाँ कर संरचना अनुसार १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत, १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आयमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्मको आयमा २७ प्रतिशत तथा ४० लाख रुपैयाँभन्दा माथिको आयमा २९ प्रतिशत कर लाग्नेछ।

यद्यपि, एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तिभरण (पेन्सन) प्राप्त गर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिहरूको हकमा पहिलो १० लाख रुपैयाँको आयमा लाग्ने १ प्रतिशत कर लागू नहुने विभागले जनाएको छ।

बीमा, शिक्षा र अन्य क्षेत्रमा कर छुट

सरकारले करदातालाई विभिन्न बचत तथा खर्चमा करयोग्य आय घटाउन पाउने सुविधा पनि कायम राखेको छ। जीवन बीमा गरेबापत वार्षिक ४० हजार रुपैयाँसम्म र स्वास्थ्य बीमा गरेबापत २० हजार रुपैयाँसम्म करयोग्य आयबाट कटौती गर्न सकिनेछ।

त्यसैगरी, छोराछोरीको शिक्षण शुल्कबापत वार्षिक २५ हजार रुपैयाँ वा कुल शिक्षा खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम करयोग्य आयबाट घटाउन पाइनेछ।

पारिश्रमिक आय मात्र भएका महिलाहरूलाई लाग्ने करमा १० प्रतिशत छुट दिइने व्यवस्था छ। दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले क्षेत्र वर्गीकरणअनुसार १० हजारदेखि ५० हजार रुपैयाँसम्म अतिरिक्त कर छुट पाउनेछन्। अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने कर छुटको सीमामा थप ५० प्रतिशत रकम कटौती गर्न सक्ने व्यवस्था पनि कायम छ।

साना व्यवसायीलाई कारोबारअनुसार कर

वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार तथा ३ लाख रुपैयाँसम्म आम्दानी हुने साना व्यवसायीले स्थानअनुसार निश्चित वार्षिक कर तिर्नुपर्नेछ। महानगर तथा उपमहानगर क्षेत्रमा ७ हजार ५०० रुपैयाँ, नगरपालिकामा ४ हजार रुपैयाँ तथा अन्य क्षेत्रमा २ हजार ५०० रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ।

३० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीको हकमा वस्तु कारोबारमा १ प्रतिशत र सेवा कारोबारमा २ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।

घरजग्गा र सेयर कारोबारमा पुँजीगत लाभकर

घरजग्गा बिक्री गर्दा स्वामित्व अवधि पाँच वर्षभन्दा बढी भए ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम भए १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।

सेयर बजारमा ३६५ दिनभन्दा बढी अवधिसम्म सेयर धारण गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत तथा सोभन्दा कम अवधिसम्म सेयर राख्ने लगानीकर्तालाई १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।

डिजिटल सेवा र सामाजिक सञ्जालबाट हुने आम्दानीमा ५ प्रतिशत कर

नेपाल बाहिर सफ्टवेयर तथा अन्य विद्युतीय सेवा उपलब्ध गराएर विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्ने व्यक्ति तथा युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सामग्री प्रकाशन गरी आम्दानी गर्ने व्यक्तिले प्राप्त आम्दानीमा ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सवारी साधनको वार्षिक कर

भाडाका सवारी साधनका धनीले सवारीको इन्जिन क्षमता (सीसी) वा किलोवाटका आधारमा वार्षिक ६ हजार ५०० रुपैयाँदेखि १७ हजार ५०० रुपैयाँसम्म कर तिर्नुपर्नेछ। विद्युतीय सवारी साधनका लागि भने क्षमताअनुसार ४ हजार रुपैयाँदेखि ९ हजार ५०० रुपैयाँसम्म वार्षिक कर निर्धारण गरिएको छ।

सरकारले सार्वजनिक गरेको नयाँ कर संरचना साउन महिनादेखि नै लागू भएको छ। यसले व्यक्तिगत आय, व्यवसाय, डिजिटल आम्दानी, लगानी तथा सम्पत्ति कारोबारका क्षेत्रमा कर प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।