राजेश हमालको टिप्पणी: कानुन जनताको जीवनस्तरसँग मेल खाने हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता राजेश हमालले कुनै पनि देशका कानुन, नीति तथा नियमहरू निर्माण गर्दा जनताको जीवनस्तर, पूर्वाधार र संस्थागत क्षमतासँग सामञ्जस्य हुने गरी बनाउनुपर्ने बताएका छन्।

काठमाडौं महानगरपालिकाको ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल पार्क गरेको भन्दै नगर प्रहरीले मुगुका गणेश नेपालीको मोटरसाइकलमा ‘ह्विल लक’ लगाई एक हजार रुपैयाँ जरिवाना गरेको घटनापछि हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उक्त घटनामा जरिवाना तिर्न नसकेपछि नगर प्रहरीसँग विवाद भएको थियो। त्यसक्रममा नगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा शनिबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

यस घटनाप्रति संवेदनशील प्रतिक्रिया दिँदै हमालले कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको वास्तविक अवस्था र नागरिकको जीवनस्तरसँग मेल खाने गरी निर्माण हुनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, “कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता र जनताको जीवनस्तरसँग सामञ्जस्य हुने गरी निर्माण गरिनुपर्छ।”

हमालका अनुसार एउटा देश वा परिवेशमा सफल भएका नीति अर्को देशमा जस्ताको तस्तै लागू गर्दा अपेक्षित परिणाम नआउन पनि सक्छ। त्यसैले हरेक राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा अनुरूप नीति निर्माण गरिनुपर्ने उनको भनाइ छ।

उनले देशको आवश्यकता र यथार्थलाई केन्द्रमा राखेर समयानुकूल सुधार गर्दै जानुपर्नेमा जोड दिँदै दिगो प्रगति अन्धानुकरणबाट नभई असल सिद्धान्तलाई राष्ट्रिय यथार्थअनुसार आत्मसात् गरेर मात्र सम्भव हुने उल्लेख गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।