रोशन केसी बने ‘गंगा रानी’ को हिरो, वर्षासँग जोडी बाँध्ने पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘गंगा रानी’ मा नव अभिनेता रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्। पाँच सयभन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने अवसर पाएका हुन्।

यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। अब ‘गंगा रानी’मा रोशन र वर्षाको नयाँ जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउनेछन्।

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशनले उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले ‘गंगा रानी’बाट आफ्नो फिल्मी यात्रा सुरु गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।

निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै चार अभिनेता र चार अभिनेत्रीका लागि अडिसन आह्वान गरेको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्।

निर्देशक राजबहादुर सानेका अनुसार पाँच सयभन्दा बढी आवेदकमध्ये पात्रको आवश्यकता र अभिनय क्षमताका आधारमा रोशनलाई मुख्य भूमिकाका लागि चयन गरिएको हो। अडिसनबाट प्राप्त फोटो तथा भिडियोको मूल्याङ्कनका आधारमा थप तीन अभिनेता र तीन अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

“अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौँ। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौँ,” निर्देशक सानेले बताए।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु हुने तयारी छ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्। उनका निर्देशनमा बनेको नयाँ सिनेमा ‘लज्जावती’ आगामी साउन २९ गते प्रदर्शनको तयारीमा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।