राष्ट्रिय सभाको शून्य समयमा कसले के भने?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूले बाढीपहिरो, डुबान, किसानका समस्या, शान्तिसुरक्षा, सुशासन, रोजगारी तथा पेट्रोलियम पदार्थको मूल्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले वर्षायाम सुरु भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेकाले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले तत्काल तयारी गर्नुपर्ने बताइन्।

सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाले तोकेको प्राध्यापन तथा परीक्षा प्रणाली पूरा गरेर बाँकी समयमा अन्य काम गर्दा त्यसलाई गलत रूपमा प्रचार गर्न नहुने धारणा राखे।

सांसद मीना सिंह रखालले दैलेखसहित देशका विभिन्न क्षेत्रमा बाँदर र बँदेल आतंकका कारण किसान मर्कामा परेको उल्लेख गर्दै जंगली जनावर नियन्त्रण गरी दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरिन्।

सांसद रञ्जित कर्णले सुशासनका नाममा ट्रेड युनियन अधिकार कमजोर बनाउन नहुने भन्दै यससम्बन्धी सरकारी कदम तत्काल सच्याउन आग्रह गरे।

त्यस्तै, सांसद रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवाको नाममा नागरिकलाई त्रसित बनाएर शासन गर्न नहुने बताउँदै कानुनविपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।

सांसद रेखाकुमारी झाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको टिप्पणी गर्दै रोजगारी सिर्जना र विकास निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरिन्।

सांसद रोशनी मेचेले मुलुकमा शान्तिसुरक्षा कमजोर बन्दै गएको, हत्या तथा अनलाइन ठगीका घटना बढिरहेको उल्लेख गर्दै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताइन्।

सांसद सम्झना देवकोटाले ‘जेन–जी’ प्रदर्शनसँग सम्बन्धित राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।

यसैगरी, सांसद सोमनाथ पोर्तेलले भारतको तुलनामा नेपालमा डिजेल, पेट्रोल र एलपी ग्यासको मूल्य उच्च हुँदा पनि नेपाल आयल निगम घाटामा रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भारतीय आयल कर्पोरेसनमार्फत आयात हुने पेट्रोलियम पदार्थको मूल्य संरचनाबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।