धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र एवं अस्थायी राजधानी धनगढीमा एसियन विकास बैङ्क (एडिबी) को सहयोगमा चार वटा सडक बनिरहेको छ ।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत यहाँ ६.४६ किलोमिटर सडक बन्न लागेको हो ।
आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार धनगढीगाउँ–बेली रोड (३.८२९ किलोमिटर), पार्कमोड सडक, उपमहानगरपालिका–राष्ट्र बैङ्क–ग्यालेक्सी स्कुल रोड (०.७९६ किलोमिटर) को निर्माण भइरहेको छ ।
यसै गरी पुरानो गोबरग्यास रोड (०.८४० किलोमिटर) र पुरानो हसनपुर–युएन सडक (एक किलोमिटर) निर्माण भइरहेको क्षेत्रीय परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।
उनका अनुसार २०२५ डिसेम्बर अन्तिममा चार वटै सडकको संयुक्त रूपमा ३१ करोड २७ लाख ४५ हजार रुपियाँमा ठेक्का लागेको थियो । धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएर काम गरिरहेको छ ।
चार वटै सडकको निर्माण समयावधि १५ महिना रहेको इन्जिनियर कलौनीले बताए । नाली, फुटपाथसहितको सडक बन्ने जनाइएको छ ।
कृषि सडकका रूपमा चिनिएको धनगढीगाउँ–बेली रोडको निर्माण धमाधम भइरहेको छ ।
धनगढी उपमहानगरपालिकाका अनुसार प्रदेश, सङ्घीय सरकार र क्षेत्रीय सहरी विकास आयोजनामार्फत तीन छुट्टाछुटटै ठाउँमा यो सडक बनिरहेको छ । प्रदेश सरकारको लगानीमा दुई सय मिटर कालोपत्रे सडक बनिसकेको छ ।
सङ्घीय सरकारको लगानीमा पनि त्यत्ति नै सडक निर्माण भइरहेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए । यसै गरी एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनामार्फत ३.८ किलोमिटर सडक निर्माण भइरहेको उनको भनाइ छ ।
निर्माणाधीन यो सडक बिग्रेको कैयौँ वर्षसम्म नबनाइँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।
सडक बनेपछि राम्रो हुने धनगढी उपमहानगरपालिका–८ का रमेश चौधरीले बताए । उनले सडक बनेपछि दैनिक दुध बोकेर धनगढीमा बिक्री गर्न आउजाउ गर्ने दक्षिणी क्षेत्रका कृषकलाई धेरै सहज हुने उल्लेख गरे ।

Comment