काठमाडौं । काठमाडौंमा पहिलोपटक ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५’ आयोजना हुने भएको छ। एभरेस्ट एलायन्स नेपालद्वारा आयोजित यो ऐतिहासिक सम्मेलन जेठ १३ गते काठमाडौंमा हुनेछ। सम्मेलनमा नेपालसहित विश्वका विभिन्न १६ देशका १७७ भन्दा बढी अनुभवी सगरमाथा आरोहीहरूको सहभागिता सुनिश्चित भइसकेको आयोजक संस्था अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए। समिटको उद्देश्य दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण, र स्थानीय समुदायको उत्थानमा अन्तरराष्ट्रिय सहकार्यलाई प्रोत्साहित गर्नु रहेको छ।
यो सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन व्यवसायी, हिमाली क्षेत्रका स्थानीय, शेर्पा, ट्रेकर र पर्वतीय संस्कृतिका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान गर्ने र जिम्मेवार पर्वतारोहण अभ्यासको चर्चा गर्ने अवसर दिनेछ। समिटमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को र युएईलगायतका देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलोपटक सगरमाथा आरोहण गरेका जीवित किंवदन्ती कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ। कार्यक्रमको अर्को विशेष पक्ष वातावरणीय सन्तुलन र हिमाली क्षेत्रको दिगो भविष्यप्रति सचेतना फैलाउने हो, जसमा इसिमोड, आईयुसीएन, डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसीजस्ता राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूको सहकार्य रहनेछ।
सम्मेलनको आकर्षणमा महिला पर्वतारोहण, जलवायु संकट, सुरक्षित प्रविधि, हिमाली सांस्कृतिक महोत्सव, चित्रकला, फोटो प्रदर्शनी, पर्वतीय जीवनशैली झल्काउने झाँकी तथा उपकरण प्रदर्शनी समावेश छन्। साथै, नाम्चे, खुम्बु, कास्की, म्याग्दी लगायतका गाउँपालिका र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा स्थानीय हस्तकला र परम्परागत सामग्री पनि प्रदर्शित गरिनेछ।
‘सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देश बोकेको यो सम्मेलन नेपाललाई विश्व पर्यटन नक्शामा थप मजबुत बनाउने, सुरक्षित तथा दिगो पर्वतारोहण गन्तव्यका रूपमा प्रस्तुत गर्ने, र नयाँ पुस्तालाई प्रेरणा दिने ऐतिहासिक अवसर हुने आयोजकको विश्वास छ।
Comment