राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ भन्ने धारणा सरोकारवालाहरूले व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा आयोजना गरेको विपद् व्यवस्थापन तालिममा सहभागि वक्ताहरूले यस्तो बताएका हुन्।

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार समाजको ऐना भएकाले उत्कृष्ट पत्रकार उत्पादन गर्न राज्यले लगानी बढाउनुपर्छ भनेकी छन्।

“पत्रकारलाई उचित पारिश्रमिक, सेवा सुविधा र क्षमता अभिवृद्धिको व्यवस्था कानूनी रुपमा नीतिगत रूपमा हुनुपर्छ,” भन्दै उनले प्रदेशस्तरीय नीतिमा यस्ता विषय समेटिने जानकारी दिइन्।

लामाले विपद् सम्बन्धी तालिमले पत्रकारलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्दै जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न यस्ता तालिम उपयोगी हुने बताइन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् जोखिम न्यूनीकरण सबैको साझा दायित्व भएको उल्लेख गर्दै पत्रकारको भूमिका प्रभावकारी हुने बताए।

गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले समाजमा विविध प्रकारका विपद् आउन सक्ने भएकाले पत्रकारले सचेत भएर सुरक्षित रुपमा सूचना सम्प्रेषण गर्नुपर्ने बताए।

“सचेत नभए ज्यान नै जोखिममा पर्न सक्छ,” भन्दै उनले जनतालाई सुसूचित गराउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाढी, पहिरो र प्रदूषणजस्ता चुनौतीबीच सुरक्षा प्राथमिकता दिँदै पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

“समयसान्दर्भिक विषयमा आधारित रही सञ्चारकर्मीलाई आवश्यक जानकारी दिने यो तालिम प्रभावकारी हुनेछ,” उनले विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक राजेश लामिछानेले नागरिक सुरक्षाको सन्दर्भमा यस्ता तालिमले पत्रकारलाई आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको क्षमता अभिवृद्धिका लागि संघले विभिन्न तालिम सञ्चालन गर्दै आएको जनाउँदै, विपद् समयमा सुरक्षित समाचार संकलनका लागि यो तालिम आयोजना गरिएको जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।