काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।
संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका नेताहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बिहान साढे १० बजे फेरि छलफल हुने सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सोमबार सिंहदरबार र नयाँबानेश्वरमा बसेका दुईवटा बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदको अवरोध हटाउने विषयमा सहमति हुन सकेन । दुई चरणमा सभामुख देवराज घिमिरेको अग्रसरतामा बैठक बसे पनि सहमति जुट्न नसकेपछि सोमबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको छ ।
सभामुख घिमिरेले दुई चरणको बैठकमा प्रमुख दलका नेताहरूबीच सकारात्मक छलफल भएको बताए । उनले भोलिको बैठकबाट संसदको अवरोध हट्ने पनि विश्वास व्यक्त गरे ।
‘दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप सूचना टाँसेर पटक-पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन,’ उनले भने, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ ।’

Comment