नेपथ्यको नयाँ गीत ‘भट्भटे’ सार्वजनिक ‍(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपथ्यले नयाँ गीत सार्वजनिक गरेकाे छ। 

शुक्रबार नेपथ्यको आधिकारिक युट्युब च्यानलबाट ‘भट्भटे’ बोलको गीत सार्वजनिक गरिएको हो। 

मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरूले धेरै गीत सार्वजनिक गरेका छन्। नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको हो। 

धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुआत भएको छ। अब तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरूमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गरेकाे छ। यो गीत एघारौं एल्बमको पहिलो गीत बन्न पुगेको छ। 

यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक अमृत गुरुङले बताए।

‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दैआएको हुँ। यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु। लेख्दै जाँदा यसमा हालको राजनीति, देश र कालप्रतिको जन असन्तुष्टि पनि झल्कन पुग्यो। नेपालका सदन र सडक दुवै भद्रगोल हुँदै गइरहेको बेला मैले सडकको आवाज मार्फत् परिस्थितीको वर्णन गरेको हुँ,’ उनले भने। 

यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ।

सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडिओलाई मोहन पुन मगरले छायांकन र सम्पादन गरेका हुन्। छायांकनमा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडिओको परिमार्जन गरेका छन्। 

यस भिडिओका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोसिस गरिएको छ। म्युजिक भिडिओको निर्माण नेपालयले गरेको हो। 

यो गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।