पाँच स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खोटाङमा निर्मानाधीन पाँच स्वास्थ्यचौकीको भवन निर्माण कार्य ७ महिनादेखि अलपत्र परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे र ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बबरमहल, काठमाडौंबाट टेण्डर भएर जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)ओखलढुंगामार्फत सुरु गरिएको पाँच स्वास्थ्यचौकीको भवन निर्माणकाे काम गत साउनदेखि ठप्प छ ।

भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा पुरा गर्नेगरी गौरी पार्वती-न्यू टेक्नीकल जेभी, ललितपुरले स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो । आगामी ८ चैतसम्ममा भवनको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत १० मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ ।

हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।

‘असार मसान्तसम्म काम भयो । केही भवनको प्लास्टर पनि गरिएको छ । सोही अनुसार भुक्तानी पनि भयो,’ इन्जिनियर मण्डलले भने, ‘त्यस यता भवन निर्माणको काम बन्द छ ।’

काम सुरु गर्न पत्राचार पनि गरेका छौं तर कुनै प्रतिक्रिया नआएको उनले बताए । मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ ।

दोर्पाचिउरीडाँडाका होटेल व्यवसायी तथा कामदारले भवन निर्माणको काम गरिरहेको ठेकेदारबाट पाउनुपर्ने भुक्तानी पनि हालसम्म पाएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधिले होटेलमा खाना खाएको पैसा हालसम्म नतिरेको र भवन निर्माणमा श्रम गरेका कामदारले पारिश्रमिक नपाएको जानकारी आएको इन्जिनियर मण्डलले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सरेको छ ।

गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भवनको जिम्मेवारी आयोजना इकाइमा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा अप्ठ्यारो आइपरेको निर्माण कम्पनीको दाबी छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।