राधिका बनिन् जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर (युद्धकला) तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन्।

सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सहभागीता जनाउने उनी पहिलो नेपाली महिला सैनिक बनेकी हुन् ।

सैनिक जवान ब्याच नं २६३८०७ की थापा सोही शिक्षालयमा कार्यरत् छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ थापाटोलकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी हुन्।

सैन्य आधार तालिमपछि २०७० जेष्ठ २४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत छन्। उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता आवश्यक पर्ने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी उनले शाहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सेनाले जनाएको छ।

तीन महिनाको अवधिसम्म चल्ने यो तालिमलाई अत्यन्तै कठिन प्रक्रियाको रुपमा लिइन्छ।

तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगलमा कसरी बाँच्ने तथा सर्पदंशजस्ता समस्याको सामनालगायत बिभिन्न सैनिक ज्ञान, सीपहरु सिकाइन्छ। उनले बिल्लादार ग्रेड–३ तथा लाईट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत लिएकी छन्।

यसअघि अन्य बिभिन्न विधामा भने महिला सैनिकहरुले तालिम लिइसकेका छन्।

नेपाली सेनाकी प्राविधिक सहायक सेनानी अन्नपूर्ण कुँवर प्याराजम्प गर्ने पहिलो महिला अधिकृत हुन्।

उपसेनानी डा. सरिता केसी, अन्य महिला सैनिक परिचारीकाहरुसहित युनिफिलमा सहभागी हुने पहिलो महिला अधिकृत हुन्।

यूएनमिसनमा सहभागी हुने पहिलो महिला सहसेनानी कृति राजभण्डारी हुन् भने पहिलो गुल्मपति सेनानी श्रृष्टि खड्का हुन्। उनले २०७४ सालमा महिलाहरुको युनिट गोरखकाली गुल्मको कमाण्ड गरेकी थिइन्।

संयुक्त राष्ट्रसंघको डिसइङ्गेजमेन्ट अब्जर्भ युनिटको पहिलो युनिट कमाण्डर सेनानी गिता गुरुङ, सैनिक कमाण्ड तथा स्टाफ तालिम सम्पन्न गर्ने पहिलो महिला अधिकृत सेनानी सुलोचना पौडेल हुन्। उनले सि.सं २५ मा उक्त तालिम गरेकी हुन्। त्यसपछि सञ्चालन भएको सि. सं २६ मा कोही छनौट भएनन्।

हाल सञ्चालनरत सि. सं २७ मा भने चारजना महिला अधिकृत छनौट भई तालिम गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।