काठमाडौं ।तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।
आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।
झापाको मेचीनगर–१३ दुहागढी घर भएका घिमिरेले केही वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
घिमिरे तीन दिनअघि दाह्री काट्न भनेर घर नजिकैको चारआली बजार जान्छु भनेर निस्केपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले घिमिरेको मृत्यु गाडीको ठक्करबाट भएको जानकारी दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडीको भने पहिचान नभएको भारतीय प्रहरीले जनाएको छ।
घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए।
घिमिरेले झापा विद्रोहपछि ९ वर्ष जेल जिवन बिताएका थिए। घिमिरे नख्खु जेल ब्रेक गर्ने माध्येका एक हुन्।

Comment