Right side from logo

''गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा'' - कमल थापा




ActPro Nepal

149

2021 May 18

आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो ।

अहिले कथित 'धर्मनिरपेक्षता'को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा पारेर तथा भ्रम सिर्जना गरेर लाखौंको संख्यामा धर्मपरिवर्तन गराईएको छ । धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाती र दलित समुदायका रहेका छन् ।

संगठित र योजनावद्धरूपमा हिन्दु, बौद्ध र किराँत धर्वाबलम्वीहरुको धर्मपरिवर्तन गराईएको छ । धर्म संस्कृति माथी भैरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू नै अल्पमतमा पर्ने खतरा टडकारो देखिन्छ । सदियौँदेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक, सामाजिक र सांस्कृतिक एकता र सद्भाव खलबलिएर देशमा धार्मिक द्वन्द बढ्ने छ । अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुनेछ । 

यो तितो यथार्थ प्रति देशका बौद्धिक जमात उदासिन मात्र होईन, असहिष्णु पनि बन्दै गैरहेका छन् । माओवादी विद्रोहकालमा कायम गरिएको हिंसात्मक आतङ्कसँगै पश्चीमा मुलुकहरुको सहयोग र सौजन्यतामा फैलाईएको बौद्धिक आतङ्कको परिणामस्वरूप अहिले नागरिक समाज, बौद्धिक जगत, आमसंचार माध्यम र ठूलो संख्यामा युवावर्गमा सनातन धर्मसंस्कृति प्रतिको आस्था र बिश्वास कमजोर भएको छ । धर्म संस्कृति र परम्परालाई प्रगति विरोधी, आधुनिकता प्रतिकुल र प्रतिगामी सोच भन्ने मनोविज्ञान बढ्दो छ ।

यसैबिच विभिन्न कारणबाट नेपाली  राजनीतिमा बढ्दै गएको कम्युनिष्ट वर्चस्व र मार्क्सवादी बिचारको प्रभावले पनि धर्म संस्कृति वारे व्यापक भ्रम कायम भएको छ । चौरानव्वे प्रतिशत जनता सनातन धर्ममा बिश्वास राख्ने र उनान्सय प्रतिशत  कुनै कुनै धर्ममा आस्था राख्ने आस्तिक जनता भएको देशमा ईश्वरको अस्तित्वको नै स्विकार नगर्ने र धर्मलाई अफिम ठान्ने नेताहरु निर्वाचित भएर आउने विडम्वना रहेको छ । 

माओवादी हिंसा र आतङ्क अहिले अन्त भएको छ । तर, बौद्धिक आतङ्को प्रभाव भने कायम रहेको मात्र होईन, अझै बढ्दै गएको देखिन्छ । यो अवस्थाको अन्त्यका निमित्त सनातन धर्म संस्कृतिमा बिश्वास राख्नेहरुका बिचमा एकता र स्पष्टताको आबश्यकता छ । सोचाईमा मात्र होईन, कार्यनीतिमा पनि एकरूपताको खाँचो छ । जनमतको कमि छैन । त्यो जनमतलाई संगठित गरी शक्तिमा रुपान्तरण गर्नु जरूरी छ ।

नेपाललाई हिन्दुराष्ट्र बनाउने तथा सनातन धर्म संस्कृति र सभ्यतालाई नेपाली समाज र राष्ट्रनिर्माणको आधार बनाउने रणनीतिक उदेश्यमा धेरै हदसम्म एकमत छ । तर,त्यो उदेश्य प्राप्त गर्ने कार्यनीतिका वारेमा भने स्वयं हिन्दुराष्ट्र पक्षधरहरुका बिचमा ठूलो मतभेद छ । यो मतभेदको दूरी कम गर्नु नितान्त आबश्यक छ । 

विद्रोहको बाटो उपयुक्त र व्यवहारिक छैन । दश बर्षे हिसांत्मक विद्रोहको तितो अनुभव बोकेका नेपालीहरु अर्को विद्रोहको पक्षमा छैनन् । देश र समाजले त्यसलाई धान्न वा स्विकार गर्न सक्दैन । अर्को बाटो संबैधानिक र प्रजातान्त्रिक परिवर्तनको शान्तिपूर्ण बाटो हो । अहिले हामीले अवलम्वन गरेको यही बाटो हो । यो अत्यन्त कठिन छ, तर असंभव छैन । 

जुन मुलुकमा सत्रहजार मान्छे मार्ने मराउने अनि बिश्वबाट नै अफाप र लुप्त भैसकेको कम्युनिष्ट बिचार बोकेर झण्डै दुईतिहाई बहुमत प्राप्त गर्न सक्छन्, त्यहाँ सत्य धर्म र राष्ट्रियता बोकेको बिचार र शक्तिले जनताको बलमा प्रजातान्त्रिक माध्यमबाट परिवर्तन स्थापित गर्न सक्दैन भनेर किन हरेश खाने ?

निकटतम छिमेकी भारतको उदाहरणबाट पनि सिक्न सक्छौ । भारतमा हिन्दु राष्ट्रवादी शक्ति भारतीय जनता पार्टी जनताको अभिमतबाट अहिले सत्तामा रहेको छ । उनीहरूले अहिले नै भारतलाई हिन्दुराष्ट्र घोषणा गर्न नसकेता पनि सनातन मुल्य मान्यता र संस्थाहरूको पुनर्जागरणलाई बल पुराएका छन् । संविधानमा स्पष्ट नलेखिए पनि हरेक दृष्टिकोणबाट भारत अहिले हिन्दुराष्ट्र  हुने दिशातर्फ उन्मुख छ ।

 नेपालका हिन्दुराष्ट्र पक्षधर र विरोधी दुवैले भारतको वर्तमान अवस्थालाई उदाहरणकारूपमा लिन सक्दछन् । हिन्दुराष्ट्रका विरोधी तर प्रजातान्त्रिक मान्यतामा बिश्वास गर्ने नेपाली बुद्धिजिवीहरूले भारतको उदाहरणबाट हिन्दुत्व वा हिन्दुराष्ट्रवादको धरातलमा पनि प्रजातन्त्रलाई सुदृढ बनाउन तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिँदो रहेछ भन्ने बुझ्न सक्दछन् ।  

हिन्दुराष्ट्रका पक्षधरहरुले संबैधानिक र प्रजातान्त्रिक बाटोबाट पनि हिन्दुराष्ट्र वा हिन्दुत्वलाई स्थापित गर्न सकिँदो रहेछ भन्ने प्रेरणा लिन सक्दछन् ।

हामीकहाँ कतिपय हिन्दुराष्ट्रका पक्षधरहरु राप्रपाले वर्तमान संविधानलाई स्विकार गरेको वा सरकारमा सहभागी भएकोमा खुसी छैनन् । खुसी नभएको मात्र होईन त्यो नीतिको घोर विरोध गर्दछन् । सिद्धान्त छोडेको, सत्तसँग बिचार साटेको आरोप लगाउँछन् । तर, त्यस्तो धारणा राख्नेसँग अर्को विकल्प पनि छैन । आफू विकल्प निदने अनि अरुले गरिरहेको सत्प्रयास प्रति पनि कुण्ठा राख्ने । यो द्वैध मानसिकताबाट सबै हिन्दुराष्ट्र पक्षधर राष्ट्रवादी मुक्त भएर एकढिक्का हुनु अहिले समयको आबश्यकता हो ।

फेरी पनि एकपटक भारतको उदाहरण हेरौँ। केही बर्ष अगाडी भारतीय जनता पार्टीले कश्मिरको 'पि डि एफ' भन्ने पार्टीसँग सहकार्य गरेर सरकार बनायो । यी दुई पार्टीहरुका बिचमा ठूलो बैचारिक भिन्नता छ । भारतीय जनता पार्टी कश्मीरलाई अन्य राज्यहरू भन्दा बिशेष दर्जा दिन भारतीय संविधानमा गरिएको धारा ३७० खारेजीको पक्षमा निरन्तर सात दशकदेखि संघर्ष गर्दै आएको दल हो । अर्कोतर्फ 'पि डि एफ' उक्त धारालाई कश्मीर अस्तित्वको मेरूदण्ड मान्ने पार्टी हो । उनीहरूको सहकार्य रणनीतिक थियो । सहकार्यबाट कश्मिरमा भाजपाले आफ्नो प्रभाव र संगठन विस्तार ग-यो । पछि संसदमा बहुमत पुग्ने वित्तिकै उक्त धारा ३७० खारेज गरी दियो । यो केवल उदाहरण मात्र हो । यही उदाहरण नै कायम गर्नु पर्छ भन्ने छैन । रणनीति र कार्यनीति समय काल र परिस्थिति अनुसार निर्धारण गर्ने विषय हो भन्न मात्र खोजिएको हो ।

हामी कहाँ लक्ष्य, नीति, रणनीति र कार्यनीति वारे बुझाउन गाह्रो छ । हालै राप्रपाले आगामी राष्ट्रिय सभाको चुनावमा नेकपा(एमाले) को  उमेदवारलाई सघाउने निर्णय 

ग-यो । नेकपा(एमाले) का तर्फबाट सहयोगका निम्ति लिखितरूपमा अनुरोध आयो । राप्रपाबाट सहयोग गर्ने निर्णय भयो । अरु उमेदवार व्यक्तिगतरूपमा योग्य नै हुनुहुन्छ । तर, उहाँअरु पनि कम्युनिष्ट पृष्ठभूमी कै हो ।  उहाँहरुको तर्फबाट कुनै पार्टीले पनि राप्रपासँग स्थागतरूपमा सहयोग मागेन । 

कतिपयले हिन्दुवादी राप्रपाले धर्मनिरपेक्षता पक्षधर एमालेलाई भोट दिने निर्णय गरेकोमा आश्चर्य प्रकट गरे । त्यो प्रतिक्रिया अस्वभाविक होईन । तर, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति लिएको पार्टीले अन्य दलहरूसँग सहकार्य गर्नु रणनीतिक कदम हो भन्ने बुझ्नु पर्छ । 

गत संसदीय चुनावमा राप्रपाले नेपाली कंग्रेस र नेकपा(एमाले) दुवैसँग चुनावी तालमेल गरेको थियो । झापामा राप्रपाको सहयोगबाट नेकपा(एमाले)का के पि ओली लगायत धेरैले चुनाव जिते । राप्रपाले पनि एमालेबाट सहयोग पायो र संसदमा एक मात्र भएपनि सांसद निर्वाचित गर्न सफल भयो । सहयोग लिन हुने तर सहयोग दिन नहुने मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।

देश अहिले संकटको चक्रव्युहमा फसेको छ । यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटि र कमजोरीहरू सच्याएर अघि बढ्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा हो ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया