nuwaot motsav

फाल्गुनन्द जयन्ती: यसरी बने फलामसिंह फाल्गुनन्द फलामसिंहदेखि फाल्गुनन्दसम्म




ActPro Nepal

157

2020 Nov 10



मनिता घिमिरे
समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन्।

उनको चर्चा अभियन्ताहरुको मुखबाट सुनिएन भनेर चिन्ता नगरौं, यो सामग्री पढेपछि सबै अभियन्ताहरुको मुखबाट सुनिएला भन्ने आशा गरौं ।

यी महापुरुषको शिक्षा र जीवनको अनुशरण विश्वका हरेक मानिसले गरे हुन्छ ।

महागुरु फाल्गुनन्दका बारेमा एउटा वाक्य नै काफी छ, उनी नेपालका राष्ट्रिय विभूति हुन् ।

फलामसिंहदेखि फाल्गुनन्दसम्म

फाल्गुनन्द महान मानवतावादी थिए । उनी इलामको चुक्चिनाम्वाको लिङनेद परिवारमा विस १९४२ कात्तिक २५ गते जन्मिएका थिए । उनको नाम राखियो नरध्वज । उनको जीवनी लेखेका नरेन्द्रराज प्रसाईं भन्छन्, ‘सानो हुँदा एकपटक नरध्वज निक्कै विरामी परे । विरामी भएकै बखत उनी आफ्नै घरबाट मध्य रातमा हराए । त्यसबेला उनी जंगल पसेर अदृष्य भएछन् । धेरैपछि उनी इलामको देवमाई र माईखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्म उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । उनी सिद्ध र परम ज्ञानी भएको प्रमाण पनि फेला पर्यो ।’

त्यसपछि के भयो ? नरेन्द्रराज भन्छन्, ‘सिद्धज्ञानीको रुपमा उनलाई रक्षावन्धन स्वरुप उनलाई फलामको चुरो लगाइयो । त्यसपछि उनलाई फलामे साईंला भन्न थालियो । विस्तारै उनी फलामसिंह लिम्बू भन्न थालियो ।’

प्रसाईंले यसो भने पनि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले एउटा लेखमा नरध्वज सानोमा विरामी भए, निको हुन्छ भनेर फलामको चुरा लगाइदिएकाले नाम फलामसिंह रहन गयो भनी लेखेका छन् ।

नेपालका यी महान विभुतिले फलामको चुरा किन लगाए ? यसबारे खोज अनुसन्धान हुन जरुरी छ, किनभने यस्ता महापुरुषको जीवनीको सबै पक्ष सहि रुपमा आउन आवश्यक छ ।

जे भए पनि नरध्वजबाट फलामसिंह बनेपछि उनले ज्ञानगुनका कुरा प्रचार गर्न थालिसकेका थिए । कुरीति र अन्धविश्वाश हटाउनुपर्छ भन्थे । जनतालाई भेला गरेर समाज सुधारका लागि आव्हान गर्थे । वाल्यकालमै उनी शाकाहारी भइसकेका थिए । काटमार र वलिप्रथाको विरोध गर्थे । तिनै फलाम सिंह कालान्तरमा महागुरु फाल्गुनन्द बनेर मानवताका महान सेवाक बने ।

उनी कसरी महागुरु बने भन्ने बारे तल चर्चा गरिनेछ, त्यसअघि उनको युवाकालको बारेमा चर्चा गरौं ।

भारतीय सेनामा जागिरे


त्यसबेला लाहुरे बनेर व्रिटिस भारतको सेनामा जागिर खान जाने चलन थियो । फलामसिंह पनि जागिरे बन्न गए । सैनिक बनेपछि पनि उनले ज्ञानगुनका कुरा गर्न छाडेनन्, हिंसा गर्न हुँदैन भन्ने ज्ञान बाँडिरहे । त्यसैले सेनामा उनलाई योगी भन्थे । अहिंसा र शान्तिका पूजारी फलामसिंहलाई सेनाको जागिर सुहाउने थिएन, उनले जागिरे जीवन छाडे । त्यसपछि भूटान र भारतका विभिन्न भाग घुमे । तिर्थस्थलहरु घुमे । ज्ञानगुनका कुरा फैलाउँदै हिँडे ।

विभिन्न ठाउँ भ्रमण गरेर फलामसिंह स्वदेश फर्किए । फर्किए पछि उनले समाज सुधारका लागि प्रयास थाले ।

उनको आदर्श थियो, सत्य वचन, सत्य आहार, सत्य विचार । समाजमा सत्यको भन्दा असत्यको बोलवाला भएको, हिंसाहत्या भएको, कुरीति र कुसंस्कार भएको देखेर उनले हटाउन विशेष पहल गर्ने अठोट गरे ।

अब बने महागुरु फाल्गुनन्द

उनमा दैवी ज्ञान थियो । तर, त्यो समयको समाज अन्धविश्वाश र कुसंस्कारमा डुबेको थियो । त्यसबेला इलाम र पाँचथर लगायतका ठाउँमा अधिकांश बसोबास लिम्बू समुदायको थियो । उनले लिम्बू समुदायलाई लक्षित गरेर ज्ञान प्रचार गर्न थाले ।

उनले विस १९८८ बैशाख २४ गते पाँचथरको सिलौटीमा तत्कालिन दस लिम्बूवानका प्रतिनिधिहरुलाई चुम्लुङ (भेला) बोलाए । समाजका विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी लगायतको उपस्थिति थियो चुम्लुङमा । सो चुम्लुङले दस बुँदे सत्य, धर्म मुचुल्का जारी गर्यो । सत्य धर्म मुचुल्का लिम्बू समुदायका सबैले मान्नुपर्ने व्यवस्था गरियो ।

सत्य धर्म मुचुल्का लिम्बू समुदायका लागि महान घोषणा थियो । सो घोषणामा बलि नदिने र हिंसा नगर्ने उल्लेख छ । किराँत इष्टदेवहरुको निरन्तर पूजा आराधना गर्ने उल्लेख छ । मांसाहार र मदिरापानलाई निषेध गरिएको छ । पठनपाठन लिम्बू भाषा तथा लिपीमा गर्ने उल्लेख छ । उनलाई भाषा तथा लिपीको संरक्षण र प्रचारका महान अभियन्ता पनि मान्न सकिन्छ ।

सत्य धर्म मुचुल्का महान क्रान्तिकारी घोषणा थियो । सो मुचुल्काले लिम्बू समुदायका यावत कुरीतिलाई हटाउने उद्घोष गरेको थियो । समुदायलाई माथि उठाउन सचेत प्रयास गरेको थियो । सबैले आफ्नै देशको उत्पादनको कपडा लगाउने, घरेलु उद्योगलाई प्राथमिकदा दिँदै प्रवद्र्धन गर्ने कुरा मुचुल्कामा छ ।

यो चुम्लुङबाट गरिएको सत्य धर्म मुचुल्काले ठूलो हलचल ल्यायो । राणाकालीन त्यो समयमा यसरी समाज सुधारको कुरा गर्नु र काम नै अगाडि बढाउनु चानचुने थिएन । यो घोषणापछि फलामसिंहलाई महागुरु फाल्गुनन्द भन्न थालियो ।

फाल्गुनन्दका अनेक अनुयायीहरु भए । अनुयायीहरुको साथमा उनी विभिन्न ठाउँ जान्थे र ज्ञान बाँड्थे । फाल्गुनन्दको प्रभाव बढेको देखेर राणाहरुले खतरा देखे । उनलाई पक्राउ गरेर काठमाडौं ल्याइयो तर फाल्गुनन्दको सत्यका अगाडि कसैको केही लागेन । फाल्गुनन्द राजनीति गरेर सत्ता प्राप्ति गर्ने बाटोमा लागेका थिएनन्, उनी त इश्वरीय सत्ताका अभियन्ता थिए, मन वचन र कर्मले नै मानवताको सेवामा लागेका थिए । त्यसैले राणा शासकहरुको केही जोर चलेन, उनलाई ससम्मान छाड्नुपर्यो ।

महागुरु र महिला

मुचुल्कामा उठाइएका सबै विषय उत्ति नै महत्वपूर्ण छ तथापि यहाँ महिलाको प्रसंगका केही विषयमा चर्चा गरिन्छ ।

सत्यधर्म मुचुल्कामा छोरीलाई छोरा सरह अंश दिनुपर्ने, दाइजो र जारी लिन दिन नहुने उल्लेख छ । छोरीलाई पनि छोरालाई जसरी नै पढाउनुपर्ने उल्लेख छ । आजको समयमा उभिएर हेर्दा यी कुरा अति सामान्य लाग्छ । तर, उनले यो कुरा नौ दशक अघि भने
थिए । भनेको मात्र नभएर चुम्लुङ राखेर यो विषयलाई कार्यान्वयनमा उतार्न ठोस पहल गरेको देखिन्छ । महागुरु फाल्गुनन्दका विचार कोरा आदर्श र उपदेश मात्र थिएनन्, उनले व्यवहारमा उतार्न प्रयास समेत गरे ।

छोरीलाई अंश दिने सम्बन्धी अभियानको क्रममा विभिन्न विदेशी विद्धान तथा अभियन्ताहरुको उदाहरण दिने गरिएको छ । तर, उनीहरुलेभन्दा पहिले नै फाल्गुनन्दले नेपाली
समाजमा छोरीलाई अंश दिने र समानताको विचार ल्याएर कार्यान्वयनमा उतार्न प्रयास थालिसकेका थिए । त्यसैले नेपालमा महिला समानताको आन्दोलन या अभियानमा सबैले सबैभन्दा पहिले लिनुपर्ने र अनुशरण गर्नुपर्ने नाम हो, महागुरु फाल्गुनन्द ।

लिम्बू समुदाय र फाल्गुनन्द

फाल्गुनन्दलाई किराँत धर्मका महान गुरु मानिन्छ । जतिबेला फाल्गुनन्दले ज्ञान बाँड्दै थिए त्यसबेला उनको समाजमा लिम्बू जाति मात्र थिए । त्यसैले उनले लिम्बू समुदायलाई माथि उठाउने, अज्ञानबाट ज्ञानको उज्यालोमा लैजाने, त्यो समुदायमा रहेको कुरीति हटाउने काम गरे ।

तर, ज्ञान कुनै जातीय सीमाभित्र बाँधिएर बस्ने विषय होइन । महागुरु फाल्गुनन्दले बाँडेको ज्ञान समस्त नेपालीका लागि हो, समस्त मानवका लागि हो । यस्ता महापुरुषलाई एउटा जातीय समुदायभित्र सीमित गरेर राख्नु या त्यसरी सोंच्नु सर्वथा अनुचित हो । हुनत महापुरुषहरु प्रारम्भमा उनी जन्मिएको जातीय समुदायमा सीमित हुन्छन्, समयक्रममा त्यस्ता महापुरुषको ज्ञानको प्रचार सर्वत्र हुन्छ । अहिले आएर फाल्गुनन्दले बाँडेको सत्य, अहिंसा र समानताको ज्ञान लिम्बू समुदायको नयाँ पुस्ताले पनि अनुशरण गर्न थालेको देखिएको छ । यो सकारात्मक कुरा हो । अब बेला आएको छ महागुरु फाल्गुनन्दको सत्य, अहिंसा र समानताको विचार तपाईं हामी सबैले सबैतिर फैलाउने ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया