राजेन्द्र प्रसाद फुयाँल
मेरो यो लेख बहुसंख्यक व्यक्तित्वहरुलाई चित्त नबुझ्न सक्छ र सायद थुप्रै गालि–गलौजहरु पनि वर्षन सक्छन् । तर मानव स्वतन्त्रता प्रजातन्त्रको आधार हो र स्वतन्त्रताको श्रोत मानव अभिव्यक्ति तथा वैचारिक लहर हो । यहाँ मैले प्रकृति शब्दको प्रयोग बढी गरेको छु । प्रकृतिलाई ईश्वर, भगवान वा आ–आफ्नो आस्था अनुसार साकार ईश्वरलाई पनि जोड्न सकिन्छ ।
प्रकृतिले मनुष्यलाई विवेक सहितको मन बुद्धि दिएको छ । यसलाई कसरी प्रयोग गर्ने ? वैकल्पिक विभिन्न मार्गहरु मध्ये उचित मार्ग, मध्य मार्ग वा निकृष्ट मार्ग कुन छनौट गर्ने हो, आफैंलाई स्वतन्त्रता दिएको छ । यसैकारणले मनुष्यलाई बुद्ध, ओशो, शिवपुरी बाबा … वा अमिलिमान देखि हिटलर सम्म बनाएको हुन्छ । जीवन, जन्म र मृत्यु बिचको सुखद या दुःखत यात्रा हो । यात्रा कस्तो र कसरी तय गर्ने मनुष्यले स्वयम छनौट गर्नु पर्दछ र गरेको हुन्छ । त्यसैको आधारमा जीवन उल्लासमय वा निराशमय बनाउने प्रकृतिले स्वयम मनुष्यको हातमा छोडिदिएको हुन्छ । यो नै हामी मनुष्यलाई प्रकृतिले दिएको अनुपम उपहार हो
स्वतन्त्रताको कुरा गरिरहँदा मनुष्यको इतिहासलाई केलाउने हो भने मनुष्य स्वतन्त्रताको वरिपरि, स्वतन्त्रताको खोजी, त्याग र उपलब्धिको प्रवाहले भरिएको पाईन्छ तर हाम्रो खोजी र उपलब्धि भने भौतिक जगतमा मात्र अड्किएको पाइन्छ । यसै कारणले नै मनुष्य उपलब्धिको लागि आशातित हुँदै खुसी र गम्भिरताको नदीमा बगिरहेको छ या उपलब्धि पछि उदास भएको छ ।
यस यात्रामा अत्यन्त न्युनले मात्र गन्तव्य (उपलब्धि)लाई भन्दा गन्तव्यको लागि गरिने यात्रा अथवा प्रक्रियालाई महत्व दिएका हुन्छन् । अर्को शब्दमा वर्तमान क्षण नै जीवनको सम्पूर्णता हो । सन् १९८० को दशकमा एउटा डन मिलमनको जीवनीमा आधारित आत्मकथा ‘पिसफुल वरियर’ (Way Of The Peaceful Warrior) लेखिएको थियो । अत्यधिक खरिद भएको किताबको पहिलो नम्बरमा थियो । किताबको महत्वपूर्ण भनाई “जीवनको सफलता गन्तव्यमा होइन यात्रामा हुन्छ र हुनुपर्छ ।” यस प्रकारका व्यक्तिहरूले गन्तव्यलाई लगभग उपेक्षा गर्दै यात्रामै जीवनलाई उत्सर्ग बनाइरहेका हुन्छन् ।
जीवन एक यात्रा हो । जसरी एउटा नदी हिमाल–पहाड हुँदै समुद्रमा पुग्छ र फेरी वाष्पीकरण द्वारा वा जमिन मुनिबाट छिचोल्दै हिमाल–पहाडमा पुग्छ । एउटा सर्कल बनिरहेको हुन्छ । जीवन पनि यसै गरी सर्कलमा चलिरहेको हुन्छ । जीवन अनन्त छ भन्ने कुरालाई सत्य मान्दछ । कुनै पनि प्रकारको भौतिक उपलब्धि जीवनको पूर्ण सत्य होईन । मनुष्य कर्म गर्न विवश छ । कर्म नै जीवनको यात्रा हो । यात्रामा देखिएका प्राकृतिक दृश्य, सुगन्ध र मनोहरता जीवनको उत्सव हो ।
संक्षेपमा मनुष्यलाई तिन प्रकारको यात्रु या यात्रिको उपमा दिन सकिन्छ, जुन यस प्रकार छः
१) जीवन एक यात्रा हो । जसरी एउटा नदी हिमाल–पहाड हुँदै समुद्रमा पुग्छ र फेरी वाष्पीकरण द्वारा वा जमिन मुनिबाट छिचोल्दै हिमाल–पहाडमा पुग्छ । एउटा सर्कल बनिरहेको हुन्छ । जीवन पनि यसै गरी सर्कलमा चलिरहेको हुन्छ । जीवन अनन्त छ भन्ने कुरालाई सत्य मान्दछ । कुनै पनि प्रकारको भौतिक उपलब्धि जीवनको पूर्ण सत्य होईन । मनुष्य कर्म गर्न विवश छ । कर्म नै जीवनको यात्रा हो । यात्रामा देखिएका प्राकृतिक दृश्य, सुगन्ध र मनोहरता जीवनको उत्सव हो । यदि कुनै प्रकारको भौतिक वा मानसिक पिडा, थकाई र निद्रा छ भने त्यो उत्सवको लागि एक पछिको अर्को तयारी मात्र हो । मानसिक विचलनको कुनै अर्थ छैन । अर्थात यदि मानसिक विचलन छ भने नदीको विपरीत धारमा बग्ने प्रयास जस्तै हो भन्ने बुझेको हुन्छ । त्यसैले यस प्रकारका मानिसहरु जीवनको उमङ्ग, सफलता तथा उपलब्धि यात्रामा देख्छन्, गन्तव्यमा होईन ।
२) जीवनको अन्तिम सत्य मृत्यु हो । मृत्यु अघि नै हिमाल र पहाडको शिखर चुम्नु पर्दछ । यस बीचमा जुनसुकै कठिनाई आईलागोस्, जसरी पनि जुनसुकै मूल्यमा शिखर चुम्नुपर्दछ । अनि मात्र आनन्दको स्वास लिन सकिन्छ । स्वच्छ हावा, पानी र जीवनको उत्सव मनाउन सकिन्छ । तर अचम्म के रहेछ भने मानिसले गन्तव्यको लागि गरिने यात्रामा लगभग सबै कुरा गुमाइसकेको हुने रहेछ । जस्तै उसको स्वास्थ्य, परिवार, समाज यहाँ सम्मकी अधिकांशले त गन्तव्यमा पुगेर उत्सवको लागि श्रृङ्गार गर्न लाग्दा एैना अगाडि झल्याँस्स हुँदो रहेछ र आफ्नो नजरमा आफैं गिर्दाे रहेछ ।
३) एउटा यस्तो वर्ग पनि हुँदो रहेछ, जसले गन्तव्यको सपना त देख्दो रहेछ तर विडम्बना यात्रा गर्नै डराउँदो रहेछ । स्वतन्त्रतामा खतरा देख्दो रहेछ । जङ्गलको मृग–जरायो भन्दा घरपालुवा मृग–जरायो हुनुलाई गन्तव्य मान्दो रहेछ, सुरक्षित ठान्दो रहेछ र यही सुरक्षालाई जीवनको स्वतन्त्रता भन्दो रहेछ । घर मालिकले आफ्नो घरपालुवा जनावरलाई माया देखाउँदा, मिठो–मिठो खाना दिँदा त खुसी हुँदो रहेछ तर बेलाबखत पर्वउत्सवमा शिकार गर्दा आफ्नो आमाको दूध पूरै दुहेर आफुलाई थोरै दूधमा चित्त बुझाउनुपर्दा स्वतन्त्रता, अन्याय र भ्रष्टाचारको कुरा उठाउँदो रहेछ । उफ्रँदो रहेछ । चिच्याउँदो रहेछ, रुने कराउने गर्दो रहेछ ।
आज हाम्रो समुदायमा, हाम्रो समाजमा यस्तै वर्गको बाहुल्य हो कि जस्तो लाग्छ । आजको सूचना र प्रविधिले मानिसहरुलाई सूचनात्मक ज्ञानी त बनायो तर अन्तरमन, अन्तरात्मालाई कोमामा राख्न पुग्यो । परिणाम; उ विवेकको कुरा खुब गर्दछ, संवेदनशीलताको कुरा पनि गर्दछ । संवेदनशील भएको पनि देखिन्छ तर यो सबै उधारो ज्ञानको कारणले भएको भन्ने कुराको महशुस गर्न सकिरहेको हुँदैन ।
अब यो लेखको मुख्य उद्देश्य तिर लागाैं । दोस्रो विश्व युद्धमा खासगरी जर्मनी, ईटाली….. जस्ता देशहरुमा पुरुषहरूको संख्या ३०% भन्दा कम भयो । जतिबेला भनिन्छ जर्मनीले नेपालको राजासँग नेपाली युवाहरुलाई पठाइदिन अनुरोध गरेको थियो । तर अचम्म के भने करिब एक–दुई दशक भित्र नै पुरुष र महिलाको समानान्तर सन्तुलन प्रकृतिले गराइन् ।
हामीले प्रकृतिलाई जित्न सक्दैनौं किनभने हामी प्रकृतिका अंश हाैं । सचेत हुन सक्छौं, प्रकृतिसित कसरी हुन्छ हार्दिक सम्बन्ध बनाउन सक्छौं । प्रकृति पूर्ण रुपमा निरपक्ष हुन्छ । प्रकृति हाम्रो विरुद्ध हुँदैन । आफ्नो नियम र सिमामा पूर्ण हुन्छ । यस्ता महामारी पहिला पनि भएको इतिहास छ । लाखौं मानिस समाप्त भएको इतिहास छ । जसलाई हामीले प्रकृतिको सन्तुलन विधि र नियमको विचारले पोतिदिएका छौँ तर आज त्यसैलाई स्विकार गर्ने र विशेष गरी महशुस गर्नेतिर हामी टाढिइरहेका त छैनौं ?
आज लकडाउन (lockdown) भईरहेको छ । यो लेख लेख्ने दिन सम्म २७ सौँ दिन भईसकेको छ । हामी सबैले समाचार र विचार–भनाइहरु विभिन्न मिडिया मार्फत सुनिरहेका छौं । हुँदा खाने वर्ग मात्र होइन, मध्यम वर्गका लागि पनि समस्या पर्ने भइसकेको छ । यो लकडाउन कहिल्य सम्म ? गहिरिएर सोच्ने बेला आइसकेको छ । महाभारतको कथा हामीले सुनेका छौं । कुरु क्षेत्रमा कौरव लगायत लाखौं मानिस मारिए तर भगवान श्रीकृष्णको आयरल्याल्डमा (Ireland)मा एक राज्य थियो । जुन द्वारिका नामले प्रसिद्ध थियो जसको वंशजलाई यदुवंशी भनिन्छ । यस युद्धमा भगवान कृष्णको कृपाले उनीहरूको कुनै क्षति पुगेको थिएन । भनिन्छ, भारत बर्ष भरी यही यदुवंशिको बाहुल्य एकछत्र भएको थियो । तर संस्कृतमा एक भनाई छ “विनाशकाले विपरितः बुद्धि ।” त्यहि भयो त्यहाँ व्यभिचारी र लोभि–पापीको बाहुल्यता अत्याधिक भयो, आपसमा मारकाट र लडाई गरेर नाश भयो । मैले भनिसकेको छु प्रकृति भनौं या भगवान, उ निरपक्ष हुन्छ । छनोट गर्ने स्वतन्त्रता मनुष्यलाई नै छोडिदिएको छ । हरेक मनुष्यलाई यो स्वतन्त्रता प्रदान गरेको छ । निर्णय गर्ने अधिकार दिएको छ । निर्णय गर्नुभन्दा अगाडी सोच्न र विचार गर्न पाइन्छ । तर निर्णय पछि कार्यान्वयनको परिणामलाई स्विकार्नुको विकल्प हुँदैन ।
प्रकृतिले आफ्नो सन्तुलन जुनसुकै माध्यमबाट कायम गर्न सक्दछ । हामीले हाम्रो सुझबुझ बढाऊँ ! सोच विचार गराँै । यो लकडाउन (lockdown) कहिल्य सम्म धान्न सकिन्छ !? विचार गर्नुपर्ने कुरा त के हो भने लकडाउन तत्कालको समाधान हो तर दिर्घकालिन होइन । आज चीनमा ७६ दिन पछि लकडाउन खुलाउँदा फेरी कोरोना भाईरस देखिन थालेको छ । हाम्रो देशमा आज पनि सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने पनि २४% जनता गरिबीको रेखा मुनि छन् । आज युरोप लगायत विकसित देशहरुमा कोरोना भाइरसको कारणले यति मान्छे मरे । उनीहरू असफल भए । तर हामी यसबाट बच्न सफल भएका छौ भन्दै स्वाद लिँदै गर्दा भोलि भोकमरीको कारणले लुटपाट, डकैटी व्यभिचारी यसरी नबढोस्, जसलाई न सरकारले नियन्त्रण गर्न सक्छ न हामी स्वयं बच्न सक्छौँ ।
आवत–जावत, हिँडडुललाई साँघुरो बनाउँ । एक प्रान्त वा जिल्ला नगरमा सीमित गरौँ । त्यहाँ भित्र आन्तरिक उद्योग, कृषि, व्यापारिक क्रियाकलापलाई सावधानीपूर्वक गतिविधि सञ्चालन गर्ने वातावरण तयार गरौँ । देशको, जिल्ला नगरको सिमालाई आवश्यकता अनुसार बलियो बनाऊँ नकि यसरी देशै ठप्प गरौ । मृत्यु भूकम्पमा पनि भएको थियो । दैनिक सडक दुर्घटना लगायतमा पनि भईरहेको हुन्छ । कोरोनाले युवा र बालक भन्दा बुढाबुढी र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई असर परेको छ । उनीहरूको लागि विषेश व्यवस्था र जनचेतना फैलाउन सकिन्छ । मृत्युसित डराएर घर भित्र बसेर मृत्यु नै नहुने होइन । पाठ सिकौँ अन्यथा लकडाउनको निर्णय र यसको अघोषित अवस्थाले यो भन्दा अझ पीडादायि अवस्था आउन सक्छ भन्ने कुरामा अन्तर मनको गहिराइमा पुगेर निरपक्ष र स्वतन्त्र भएर निकासा खोजौँ । निश्चय नै यो भने जस्तो सजिलो छैन । तर उदाहरणको रुपमा भन्न सकिन्छ कि बच्चालाई स्वतन्त्र रुपमा हुर्काउनु भन्दा पिटेर डर देखाएर हुर्काउन सजिलो हुन्छ तर ऊ डरपोक हुन्छ । ऊ सिर्जनात्मक हुन सक्दैन । मेरो विचारमा यो लकडाउन पनि कतै बच्चालाई डरमा हुर्काए जस्तै त भएको छैन ?
अन्तमा हामीले जे निर्णय गरेका छौं र यसलाई नै बुद्धिमानी निर्णय भनेर पक्षमा तालि बजाइ नराखौँ । यो भोलिका दिनमा पश्चात्ताप नभईदियोस् । हुन सक्छ लकडाउन नगर्दा १० हजार मानिसलाई कोरोना भाइरसले खाला तर लामो समयको अन्तराल पछि अन्ततोगत्वा खोल्नैपर्ने भएर खोलेपछि कोरोना र अन्य ……. सम्भावित ज्ञात–अज्ञात रोग एवं समस्याका कारणले १० हजारमा अर्को शुन्य थपिन पनि सक्छ । यस्तो अवस्था आएमा के होला ? सोचौं सबै तहका, समूहका सरोकारवालाहरुले गहिरो मन्थन गरौँ र साहसिक निर्णय गरौँ ।
(लेखक राजेन्द्र प्रसाद फुयाँल काठमाडौंकाे तारकेश्वर–४, गोलढुङ्गा स्थित सिर्जना ज्ञानसागर माविका प्रिन्सिपल हुनुहुन्छ ।)
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।