दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता अध्याय ६
श्रुति भन्दछ यो गगनादि जगत्
अझ तत्त्व सबै मृगतोय फगत् ।
छ भने सब चेतन सृष्टिभरि
उपमा उपमेय भए कसरी।।१
बुझ भिन्न अभिन्न विभिन्न कहाँ
सब कार्य विकार्य छ हीन वहाँ ।
शिव एक भए सब सृष्टिभरि
पुजिने अनि ध्यान हुने कसरी ।।२
मन जान्छ निरन्तर सर्वतिर
अविशाल-विशाल-विहीनतिर।
र भए मन यो सब सृष्टिभरि
मुखले मनले म भजूँ कसरी।।३
उदयास्त कुनै न त हुन्छ जहाँ
उसमा दिनरात विभेद कहाँ ।
शिव एक भए सब सृष्टिभरि
रवि चन्द्र र अग्नि बने कसरी।।४
न त काम विकाम विभेद कुनै
न छ चेष्ट विचेष्ट विभाग कुनै ।
शिव मात्र भए सब सृष्टिभरि
भन भित्र र बाहिर भो कसरी ।।५
अझ सार-विसार-विहीन जहाँ
अनि शून्य-विशून्य-विहीन वहाँ ।
शिव एक भए सब सृष्टिभरि
पहिलो अनि अन्तिम भो कसरी ।।६
न छ वेदक- वेद्य-विभेद वहाँ
र विभेद र भेद रहन्न जहाँ ।
शिव एक भए सब सृष्टिभरि
त सुषुप्ति समाधि भए कसरी ।।७
भनियो भनिएन असत्य दुवै
बुझियो बुझिएन असत्य दुवै ।
शिव मात्र भए सब सृष्टिभरि
मन इन्द्रिय बुद्धि बने कसरी ।।८
नभचञ्चल वायु असत्य भए
धरणी अनि अग्नि असत्य भए ।
शिव मात्र भए तब सृष्टिभरि
जल बादलको छ छिटा कसरी।।९
यदि चेतनमा सब लोक अडे
अनि चेतनमा सब देव अडे ।
शिव मात्र भए सब सृष्टिभरि
गुणदोष विचार भयो कसरी ।।१०
न छ चेतनको मरणामरण
न त चेतनको करणाकरण।
शिव मात्र भए सब नित्य जगत्
रचिए कसरी गमनागमन ।।११
न छ भेद वहाँ पुरुषप्रकृति
न त कारण कार्य विभेद रती।
शिव मात्र भए सब नित्य जगत्
कहिए कसरी पुरुषप्रकृति।।१२
न त दुःख कुनै छ बुढोपनको
सुख लिन्छ कहाँ र युवापनको।
शिव मात्र भए सब सृष्टिभरि
शिशु-वृद्ध-युवापन यी कसरी ।।१३
न छ आश्रम वा न छ जात कुनै
न त कारण कार्य वहाँ छ कुनै।
शिव मात्र भए सब सृष्टिभरि
जग नष्ट विनष्ट भयो कसरी ।।१४
सब खादक खाद्य छ झूट वहाँ
जनिताजनितादि असत्य जहाँ ।
छ भने शिवमात्र जहाँ र तहाँ
कसरी तब नाश अनाश वहाँ ।।१५
न कुनै पशु ऊ न कुनै पुरुष
न नपुंसक ऊ महिला छ न त।
शिव मात्र भए सब सृष्टिभरि
तब लिङ्गविनोद भयो कसरी ।।१६
न छ मोह विषाद कुनै जसमा
न त संशय शोक कुनै उसमा।
शिव मात्र भए सब सृष्टिभरि
छ ‘अहम् मम’ यो भन लौ कसरी।।१७
न त धर्म विधर्म कुनै छ वहाँ
न त बन्धन मोक्ष कुनै उसमा।
शिव मात्र भए सब सृष्टिभरि
जगमा सुखदुःख भए कसरी ।।१८
यजमान र यज्ञ कुनै नभए
अझ अग्नि र द्रव्य कुनै नभए ।
शिव मात्र रहे सब सृष्टिभरि
भन कर्मपिछे फल भो कसरी ।।१९
जब शोक-विशोक-विमुक्त छ ऊ
र घमण्ड विना अझ मस्त छ ऊ।
शिव मात्र भए सब सृष्टिभरि
तब राग विराग रहे कसरी ।।२०
न छ मोह-विमोह-विकार वहाँ
न त लोभ-विलोभ-विचार वहाँ ।
यदि मात्र उही सब सृष्टिभरि
अविवेक विवेक भए कसरी ।।२१
न तिमी न म यो छ कुनै कसरी
कुल जाति विचार हुने कसरी ।
म निजै शिव वा परमार्थ भए
अभिवादन यो म गरूँ कसरी ।।२२
गुरुशिष्य विचार वहाँ कसरी
उपदेशविचार विशीर्णसरि।
म निजै शिव वा परमार्थ भए
अभिवादन यो म गरूँ कसरी ।।२३
न शरीर कतै छ विभाग वहाँ
न त भुर्भुवलोक विभाग वहाँ ।
म निजै शिव वा परमार्थ भए
अभिवादन हुन्छ कहाँ विलय।।२४
न छ राग कुनै न विराग वहाँ
कति निर्मल निश्चल शुद्ध अहा।
म उही शिव वा परमार्थ भए
अभिवादन हुन्छ र फेरि कहाँ ।।२५
न छ देह विदेह विकल्प वहाँ
न त सत्य असत्य कुनै उसमा।
म उही शिव वा परमार्थ भए
अभिवादन के छ र फेरि कहाँ ।।२६
जब यति जान्दछ जान्नु छ अब के
वेद तर्क सब काम छ तब के।
समरसमग्न भई रसपूत
बोल्दछ रसमय अनि अवधूत।।२७
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतानेपालीवृत्तभावानुवादे षष्ठोsध्याय:।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।