दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता अध्याय ४
अवधूत भन्दछन्-
आह्वान नै छैन कहाँ बिदा हो
नैवेद्य पत्रादि र पुष्प के हो।
चैतन्यका ध्यान र मन्त्र छैनन्
निर्द्वन्द्वमा बस्नु शिवार्चना हो।।१
आत्मा न यो बन्ध-विबन्ध-मुक्त
न ता छ यो शुद्ध-विशुद्धमुक्त।
न हुन्छ यो योगवियोगमुक्त
आकाशजस्तै छ सदा विमुक्त ।।२
संसार यो सत्य छ हो कि हैन
यो तर्कनामा कहिल्यै म छैन ।
ममा कहाँ जन्म र मृत्यु रोग
स्वरूप नै छैन त के वियोग ।।३
न लिन्छु माया न त छोड्छु माया
न भित्र वा बाहिर नै छ छाया ।
विभेद वा भेद सदा विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।४
जान्ने नजान्ने कहिल्यै म छैन
दुवै कुराको पनि भान छैन।
र छैन निर्बोध र बोधयुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।५
न धर्मले युक्त न पापयुक्त
न बन्धले युक्त न मोक्षयुक्त।
अयुक्त वा युक्त दुवै वियुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।६
आफ्नो न अर्को न त मध्यभाव
वैरी न कोही न त मित्रभाव ।
अलाभ वा लाभ दुवै विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।७
उपासना हुन्न उपास्य हैन
क्रिया हुँला के उपदेश हैन ।
हुन्थेँ म के लौ अझ ज्ञानयुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।८
न व्याप्य वा बन्दछु व्यापकादि
न ता गृही वा न निरालयादि।
अशून्य वा शून्य-स्वभाव-मुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।९
न छन् कुनै ग्राहक ग्राह्य भाव
छैनन् कुनै कारण-कार्यभाव।
अचिन्त्य वा चिन्त्य दुवै विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१०
छैनन् कुनै भेदक-भेद्य-भाव
न वा कुनै वेदक-वेद्य-भाव।
भविष्य-भूतादिक भावमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।११
न छन् कुनै देह विदेह साथी
न बुद्धि वा छन् मन इन्द्रियादि।
विराग वा राग दुवै विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१२
चैतन्य आत्मा न छ ब्रह्मभिन्न
न वेदका साथ छ यो अभिन्न ।
समासम-द्वन्द्व सदा विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१३
न साथमा इन्द्रिय जित्छ हार्छ
न वा कुनै ऐन र संयमै छ।
के हार के जीत दुवै विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१४
अमूर्त हो वा न त मूर्त नै हो
न आदिमध्यान्तबिसे कुनै हो।
बली भनूँ वा बलदेखि मुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१५
मर्ने र बाँच्ने विषबाट मुक्त
म सर्वथा सर्वविकारमुक्त ।
न वा कुनै शुद्ध न हो अशुद्ध
छु रूप-जन्मादिक-रोग-मुक्त।।१६
सुत्ने र उठ्ने न कुनै छ मुद्रा
न वा दिवा रात छ एकछत्र।
अतुर्य-तुर्यादिक भावमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१७
जान्नू सबैबाट निर्भिन्न भिन्न
माया विमाया उभयत्र भिन्न।
सदा म सन्ध्यादिक-कर्म-मुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१८
रहन्छु संपूर्ण समाधियुक्त
र लक्ष्य निर्लक्ष्य दुवै विमुक्त ।
वियोग वा योग सदा विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।१९
न मूर्ख वा पण्डित वा कुनै म
विमौन वा मौन न ता कुनै म।
न हुन्छु क्यै तर्क-वितर्क-युक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।२०
माता पिता जात न वा कुलादि
न जन्म पश्चात् स्थिति मृत्यु आदि ।
विमोह वा स्नेह दुवै विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।२१
छैनन् जहाँ तेज कहाँ वितेज
अस्ताउने वा न उदाउने छ।
सन्ध्यादिका साधनले विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।२२
उत्पत्ति मेरो न कदापि जान
विभाग वा भाग म हुन्नँ मान।
अशुद्धताबाट सदा विमुक्त
छु रूप-जन्मादिक-रोग-मुक्त।।२३
त्यागी महात्मा अनि धीर जो छन्
न ध्यान गर्छन् न त कर्म गर्छन्।
छन् त्यागरूपी रसपान-लुब्ध
स्वरूप-जन्मादिक-रोग-मुक्त।।२४
जब यति जान्दछ जान्नु छ अब के
वेद तर्क सब काम छ तब के।
समरसमग्न भई रसपूत
बोल्दछ रसमय अब अवधूत।।२५
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतानेपालीभावानुवादे चतुर्थोsध्याय:।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।