दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता अध्याय ३
गुण विगुण दुईको छैन केही विभाग।
रति र विरतिको झन् छैन केही प्रभाव ।।
न त गुण अगुणै छन् विश्वव्यापी छ रूप।
नमन गरुँ म केको जो छ आकाशरूप।।१
छैनन् कुनै रँग छ नित्य शिवस्वरूप।
वा कार्यकारणबिसे न छ श्रेष्ठरूप।।
छैनन् विकल्प पनि क्यै म छु पूर्णतामा ।
होला सखे नमन के निजले निजैमा ।।२
अज्ञान ज्ञान न कुनै म सधैँ उज्यालो ।
निर्धूम धूम न कुनै म सधैँ उज्यालो ।।
आकाशवत् सम सदा रस ज्ञानरूप ।
निर्दीप दीप न कुनै छु सधैँ उज्यालो ।।३
निष्काम काम पनि नाम छ के र भन्नु
निःसङ्ग सङ्ग अझ नाम छ के र भन्नु।।
आकाशवत् सम सदा म छु ज्ञानरूप ।
निस्सार सार नहुने कसरी छ भन्नु।।४
अद्वैत रूप यतिका कसरी छ मानूँ
द्वैतस्वरूप अझ झन् कसरी छ मानूँ ।
आकाशवत् सम सदा म छु ज्ञानरूप ।
यो सृष्टि नित्य छ अनित्य कसो म मानूँ।।५
मोटो न वा गत र आगत पातलो न।
उत्पत्ति अन्त्य न कुनै न यहाँ वहाँ न।
साँच्चै भनूँ अब भने म हुँ आत्मरूप।
आकाशवत् सम सदा म छु ज्ञानरूप ।।६
सम्पूर्ण इन्द्रिय अझै विषयादि जो छन्
जान्नू सबै गगन झैँ जति जो यहाँ छन् ।
चैतन्य-ब्रह्म न छ बन्ध न मुक्तरूप।।
आकाशवत् सम सदा म छु ज्ञानरूप ।।७
दुर्बोध बोध गहिरो कहिल्यै म छैन
दुर्लक्ष लक्ष गहिरो कहिल्यै म छैन ।
आकाशवत् सम सदा म छु ज्ञानरूप ।
सद्बुद्धि वा मनबिसे म कदापि छैन।।८
निष्कर्म भैकन म कर्म जलाउँदैछु।
दुःखी नभैकन म दुःख जलाउँदैछु।
आकाशवत् सम हुँदै अझ ज्ञानरूप ।
निर्देह भै सकल देह जलाउँदैछु।।९
निष्पाप भै सकल पाप जलाउँदैछु
निर्धर्म भै सकल धर्म जलाउँदैछु।
आकाशवत् सम हुँदै अझ ज्ञानरूप
निर्बन्ध भै सकल ग्रन्थि डढाउँदैछु।।१०
निर्भाव भैकन म भावविहीन हैन
निर्योग भैकन म योगविहीन छैन ।
आकाशवत् सम रसामृत ज्ञानरूप
निश्चित्त भैकन म चित्तविहीन छैन।।११
निर्मोहमा छु तब मोहित हुन्नँ काहीँ
निःशोकमा छु तब शोक रहन्न काहीँ ।
निर्लोभमा छु तब लोभ गरिन्नँ ढुक्क
आकाशवत् सम सदा म छु ज्ञानरूप ।।१२
संसाररूप लहरा कहिल्यै बढेनन्
सन्तोषरूप अझ सन्तति नै भएनन् ।
अज्ञान बन्धन कुनै नहुँदा छु ढुक्क
आकाशवत् सम सदा म छु ज्ञानरूप ।।१३
संसारबाट पनि छैन कुनै विकार
सन्तापबाट पनि छैन कुनै विकार ।
आकाशवत् सम सदा म छु जानकार
सत्त्व स्वधर्मसँगको न कुनै विकार ।।१४
चिन्ता र दुःखज ममा विधि छैन केही
सन्ताप योगज ममा पनि छैन केही ।
आकाशवत् म छु रसामृत ज्ञानरूप ।
मेरो ममा अझ अहं पनि छैन केही ।।१५
निष्कम्प कम्प न कुनै न विकल्प कल्प
के जाग्रदादि न हिताहित आदि द्वन्द्व।
निस्सार सार जड चेतनको न रूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।१६
के वेद्य वेदक ममा न त हेतु तर्क्य
बोली र बुद्धि मनले न त यो छ प्राप्य।
चैतन्य-ब्रह्म मुखले कसरी भनूँ म
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।१७
निर्भिन्न भिन्न न कुनै परमार्थतत्त्व
के भित्र वा न म छु बाहिर एकछत्त।
निर्लिप्त सृष्टिभरकै अपदार्थरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।१८
के राग दोष छ ममा म हुँ पूर्ण तत्त्व
दैवादिदोष न कुनै म हुँ पूर्ण तत्त्व ।
संसारका विषयमा न त शोक दुःख
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।१९
जाग्रत् सुषुप्ति नभए छ कहाँ चतुर्थ
छैनन् त्रिकाल जसमा न दिशा जहाँ छ।
हो शान्त ब्रह्मपद यो परमार्थरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२०
जो छैन दीर्घ उसको लघुता कहाँ छ
फैलाइ छैन जसको कसिलो कहाँ छ।
क्यै कोण छैन जसमा न त वृत्तरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२१
माता पिता र तनयादि कदापि छैन
जन्मेर मर्नु दुइटै म किमार्थ छैन ।
निर्व्याकुल स्थिर सदा परमार्थरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२२
शुद्धातिशुद्ध अविचार्य अनन्तरूप
निर्लेप-लेप अविचार्य अनन्तरूप ।
निष्खण्ड-खण्ड अविचार्य अनन्तरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२३
ब्रह्मादिदेवगण छन् र कहाँ मसाथ
स्वर्गादिलोक पनि छैन कुनै मसाथ।
चैतन्यतत्त्व सम एक परस्वरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२४
जो नेतिनेति श्रुति भन्छ त के म बोलूँ
निःशेष शेष पनि होइन के म बोलूँ।
निर्लिङ्ग लिङ्ग पनि छैन हुँ आत्मरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२५
निष्कर्म भैकन अझै कति कर्म गर्छु
निःसङ्ग सङ्ग जसरी म विनोद गर्छु ।
आकाशवत् समरसामृत ज्ञानरूप
निर्देह भैकन म देहविनोद गर्छु।।२६
माया प्रपञ्च रचना पनि छैन केही
पाखण्ड वा कुटिलता पनि छैन केही ।
आकाशवत् म छु रसामृत ज्ञानरूप
झूटा र सत्य रचना पनि छैन केही ।।२७
सन्ध्यादिकाल नहुँदा उदयास्त छैन
जान्दैन इन्द्रिय गुँगो बहिरो म छैन ।
छैनन् विकल्प न त शुद्ध अशुद्धरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२८
स्वामी म हैन न छ मालिकनाम कोही
निश्चिन्त चित्त नहुँदो बुझ जो छ सोही ।
सर्वत्र व्यापक निराकुल आत्मरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।२९
एकान्त मन्दिर जसै जगको स्वरूप
शङ्का र सिद्ध दुइटै जगको स्वरूप ।
यस्तो अचम्म र निरन्तर के छ बोलूँ
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।३०
निर्जीव जीव नहुँदो पनि भासमान
निर्बीज बीज नहुँदो पनि भासमान ।
आकाशवत् म छु रसामृत ज्ञानरूप
निर्वाण बन्धन नभै पनि भासमान।।३१
संसारभूषणविहीन छ भासमान
संसारधर्म नहुँदा पनि भासमान ।
जो नाश हुन्न कहिल्यै नित भासरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।३२
उल्लेख गर्नु कसरी न छ नाम रूप
निर्भिन्न भिन्न पनि के छ र वस्तुरूप।
के हर्ष वा न छ विषाद अजीवरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।३३
रुन्छौ छ के मन! जरा न त मृत्युरूप
रुन्छौ पुनः किन यहाँ न छ जन्मदुःख।
छैनन् विकार पनि क्यै निजकार्यरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।3४
रुन्छौ त चित्त किन हो न शरीररूप
रुन्छौ तिमी किन कठै न कुनै विरूप।
बेकाममा किन रुने न वयस्वरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।3५
रुन्छौ त चित्त किन हो न वयस्वरूप
रुन्छौ तिमी किन न इन्द्रियको स्वरूप ।
रुन्छौ त फेरि कसरी न मनःस्वरूप।
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।३६
हे मित्र चित्त रुनु के छ र काम के छ
रुन्छौ तिमी किन सखे न त लोभ नै छ।
आकाशवत् म छु रसामृत ज्ञानरूप
रुन्छौ तिमी किन सखे न विमोहरूप।।३७
ऐश्वर्य चाह किन हो धन छैन आफ्नो
ऐश्वर्य चाह किन हो न कलत्र आफ्नो ।
आकाशवत् म छु रसामृत ज्ञानरूप
ऐश्वर्य चाह किन क्यै जब छैन आफ्नो ।।३८
यो सृष्टिमा न कमिलातक क्यै छ तेरो
निर्लज्ज भैकन भनिस् किन फेरि मेरो।
आकाशवत् म छु रसामृत ज्ञानरूप
तेरो न क्यै छ यसमा न त क्यै छ मेरो ।।३९
तिम्रो स्वरूप अणुमात्र विराग छैन
तिम्रो स्वरूप अणुमात्र सराग छैन ।
तिम्रो स्वरूप अणु झैँ न सकामरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।४०
ध्याता छ को हृदयमा न समाधि-ग्राह्य
वा ध्यान यो हृदयमा न छ भित्र बाह्य।
होला न ध्येय न छ वस्तु र कालरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।४१
जे सार हुन् सब कुरा भनिए अवश्य
तिम्रा न ती न मम ती गुरु वा न शिष्य ।
स्वच्छन्दरूप सजिलो परमार्थरूप
आकाशवत् म छु रसामृत ज्ञानरूप ।।४२
छ भनुँ म कसरी यो तत्त्व आनन्दरूप
र भनुँ म कसरी यो छैन आनन्दरूप ।
जब सतत छु आफै नित्य आकाशरूप
र भनुँ म अझ के यो ज्ञानविज्ञानरूप।।४३
अनल अनिल छाडी जान विज्ञान एक
अवनि सलिल छाडी जान विज्ञान एक ।
अमन गमन छाडी जान विज्ञान एक
समगगन छ व्यापी जान विज्ञान एक ।।४४
विशून्य वा शून्य न रूप मेरो
विशुद्ध वा शुद्ध न रूप मेरो ।
स्वरूपरूपी परमार्थ जो हो
विरूप वा हुन्छ न रूप मेरो ।।४५
त्यज है त्यज संसार त्यज त्यागै समेत रे।
विष झैँ त्याग-अत्याग त्यजी आनन्द भेट रे ।४६
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतानुवादे तृतीयोsध्याय:।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।