add

जग्गा किन्ने सोचमा हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुस्, नत्र फस्नुहोला !






ActPro Nepal

|

१९ फागुन, २०७६

|
1097

काठमाडौं। के तपाइ घरजग्गा किन्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने सस्तो मूल्यमा घरजग्गा पाउँदै छु भनेर मख्ख नपर्नुहोस । घरजग्गा किन्दा मूल्य मात्र महत्वपूर्ण हुन्न । तपाईले किन्न आँट्नु भएको जमिन, त्यहाँ भएका भौतिक निर्माण र जमिन भएको ठाउँ पनि महत्वपूर्ण हुने गर्छ ।

कुन ठाउँमा छ जग्गा ?

जग्गा किन्दा तपाईंले किन्ने जग्गा कुन ठाउँमा छ त्यो महत्वपूर्ण हुन्छ । जग्गा किन्दा भिरालो वा खोला किनारमा भएको स्थानमा किन्नु हुँदैन । तपाईंको जमिन भएको ठाउँमा ढल, पानी, बिजुलीको पोल लगायतको व्यवस्था छ कि छैन जान्नुस । जग्गाको नक्सामा सडक कत्तिको छ ? तपाईंलाई सडक भनेर देखाइएको ठाउँ अरुको जमिन पर्न पनि सक्छ ।

जग्गा किन्दा प्लटिङ गरिएको अथवा नयाँ कालोनी भएको स्थान भयो भने धेरै सजिलो हुन्छ । तपाईं जमिन घर वा उद्योगको लागि किन्दै हुनुहुन्छ भने त्यो कृषि क्षेत्रमा परेको हुनुहुँदैन । नत्र, पछि तपाईंलाई झन्झट हुनसक्छ ।

 कुन एजेन्टबाट किन्दै हुनुहुन्छ ?

घरजग्गा किन्दा कस्तो एजेन्टसँग किन्दै हुनुहुन्छ त्यो जानिराख्नुपर्छ । विश्वसनिय व्यक्तिबाट मात्र घरजग्गाको कारोबार गर्नु पर्छ । पछिल्लो समय सरकारले घरजग्गा विक्री गर्ने व्यक्तिले समेत कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले तपाईंले किन्ने एजेन्ट कुनै कम्पनी अन्तर्गत पर्छ कि पर्दैन त्यो पनि थाहा पाइराख्नु राम्रो हुन्छ ।

घरजग्गा धनीको पुरा जानकारी लिनुपर्छ

घरजग्गा किन्ने बेलामा जहिले पनि घर तथा जग्गा धनीको बारेमा पुरै जानकारी लिनु पर्छ । देखाइएको जग्गा धनी सोही व्यक्ति हो वा होइन भनेर थाहा पाउन उसको नागरिकता, लालपुर्जा सबै राम्रोसँग जाँच गर्नुपर्छ । र, सो घर तथा जग्गा भएको ठाउँका स्थानीय र जग्गा धनीका छरछिमेकहरुसँग पनि सक्दो धेरै जानकारी लिनुपर्छ । यसरी तपाईंले किन्न आँटेको जग्गाको धनी सोही व्यक्ति हो होइन थाहा पाउन सकिन्छ ।

 पुराना वस्तीमा जग्गा कहिले किन्नु हुन्न

 
पुराना वस्तीहरुमा जग्गा किन्न नहुने घरजग्गा व्यवसायी किशोर खरेल बताउँछन् । उनका अनुसार पुरानो बस्तीमा घरजग्गा किन्दा त्यसमा नक्सा राम्रो पहिचान हुन गाह्रो हुन्छ । पुराना वस्तीमा बाटो नहुने र नभएको बाटोलाई समेत बाटो भएको भनेर ठग्ने प्रबृत्ति हुने हुँदा त्यसबाट बच्न पनि सचेत रहनु पर्छ ।

सिधै बैना नगर्नुस

हामीलाई सँधैं सस्तो जग्गा चाहिएको हुन्छ । त्यसैले उक्त जग्गा के कस्तो हो भनेर कागजपत्र नमागी सिधै बैना लगाई दिन्छौ । तर, यस्तो गर्दा फस्न सक्ने सम्भावना धेरै हुने खरेल बताउँछन् । सिधै बैना गर्दा दलालले ठग्न सक्ने सम्भावना धेरै हुन्छ । कुनै पनि जग्गा किन्दा १० पटक सोच्नु पर्ने खरेल बताउँछन् ।

 बजार भाउ बुझ्नु पर्छ

 जग्गा किन्दा जग्गा भएको क्षेत्रमा जग्गा मूल्य कति छ त्यो बुझ्नु पर्छ । जग्गाको मूल्य सस्तो भन्दैमा त्यसमा आँखा चिम्लिएर विश्वास गर्नु हुन्न । मालपोतमा गएर त्यो जग्गाको मूल्यांकन कति छ त्यो पनि जान्नु उपयोगी हुन्छ ।

 मालपोतमा तोकिने जग्गा मूल्यांकन अनुसार बाहिर बजारमा जग्गाको मूल्य नपाइने हुँदा सो जग्गाको मूल्य बारे अन्य मानिसहरुको पनि सोधपुछ गर्नु पर्छ । यसो गर्दा आफुले हाल्न लागेको मूल्य सहि हो कि होइन मेसो पाउन सकिन्छ ।

 जग्गा धनीले किन बेच्दैछ जमिन?

 
तपाइले किन्न आँटेको जमिन जग्गा धनीले किन बेच्दै छ भनेर कारण पत्ता लगाउनुस । सस्तो मूल्य भन्दैमा हतारमा खरिद गर्दा एउटै जग्गा धेरै पटक विक्री भएको पनि हुन सक्छ । सो जग्गा उसले त्यस अघि को सँग किनेको हो र कतिमा किनेको हो जानि राख्नु राम्रो हुन्छ । यदि त्यो जग्गाको मूल्य कम समयमा धेरै बढेको छ भने किन बढ्ना साथै बेच्न लागेको भनेर प्रश्न उठाउनु पनि राम्रो हुन्छ ।

 जग्गा हेर्न जाँदा छाता नओढी जानु !

 जग्गा हेर्न जाँदै हुनुहुन्छ भने छाता नओढी जानुहोस । किन भने जग्गा देखाउने एजेन्टले तपाईंलाई छाता ओढाउने बाहानामा तपाईंको जग्गा माथिबाट पोलका तारहरु गएका छन् भने त्यो लुकाउन खोजेको हुनसक्छ । कुनै पोलका तारहरु तपार्इंको जग्गाको माथिबाट लगिएको छ भने त्यो जग्गा किन्नु राम्रो हुन्न ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.