काठमाडौं । आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै छ। यी सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छन्।
जसअनुसार बिहान ११ बजेबाट सुरु हुने अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजेबाट सुरु हुने छ। यस बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ।
बिहान ११:३० बजेबाट सुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरूका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुने छ।
साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने अपरान्ह १२:३० बजेबाट सुरु हुने सचिवालयले जनाएको छ। नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने र छलफल हुने छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गरिने भएको छ। यो बैठक बिहान ११ बजे बोलाइएको सचिवालयले बताएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।