add

धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमा पर्ने देउवाको यस्तो छ राजनीतिक यात्रा






ActPro Nepal

|

२९ मंसिर, २०७८

|
1002

काठमाडौं  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यसपछि उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति बने। पञ्चायत विरोधी राजनीति गर्दा देउवा पटक–पटक जेल परेका थिए। आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका देउवा पाँचौ पटक प्रधानमन्त्री पद चलाइरहेका छन्।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

२०५६ सालमा डडेल्धुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरे। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाए।

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो। तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।

२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बने।

देउवाकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भयो। २०७२ साल फागुनमा भएको १३ औं पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता बने।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका देउवाले सन् १९८९ देखि १९९० सम्म लन्डन स्कूल अफ इकोनाेमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।

सर्वोच्च अदालतको गत असार २८ गतेको परमादेश अनुसार देउवालाई २९ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छिन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

कांग्रेसको १२ औँ महाधिवेशनमा सुशिल कोइरालासँग देउवा सभापतिमा पराजित भएका थिए। १४ औं महाधिवेशनमा पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि देउवा र डा.शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.