add

जीवन बीमा कम्पनीले १५.४५ प्रतिशत बढाए नयाँ व्यवसायः कुनको कति ?






ActPro Nepal

|

११ पुष, २०८१

|
77

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु अर्थिक वर्ष २०८१/८२ को ५ महिना (साउन मंसिर)मा ६६ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म १७ जीवन बीमा (१४ जीवन बीमा र ३ लघु जीवन बीमा) कम्पनीले कुल ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा जीवन बीमा व्यवसाय ७.१ प्रतिशत अर्थात ४ अर्ब ३८ करोड रुपैयाँले बढेको हो । गत वर्ष मंसिरसम्म जीवन बीमा कम्पनीहरूले कुल ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बीमा शुलक संकलन गरेका थिए ।

चालु आवको मंसिरसम्म १४ जीवन बीमा कम्पनीले मात्रै ६५ अर्ब ७४ करोड रुपैयाँ र ३ लघु जीवन बीमा कम्पनीले ४० करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवमा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसायमा पनि सुधार आएको छ । गत वर्षको तुलनामा चालु आवको ५ महिनामा कम्पनीहरूको नयाँ व्यवसाय १५.४५ प्रतिशतले बढेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीले नयाँ पोलिसी जारी गरी १२ अर्ब ६८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । गत वर्ष यही अवधिमा १० अर्ब ९८ करोडको नयाँ पोलिसी जारी गरेका थिए ।

यद्यपि, समग्र जीवन बीमा व्यवसाय भने पुरानै पोलिसी नवीकरणले धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ८०.८२ प्रतिशत रहेको छ । नयाँ पोलिसी बिक्रीबाट १९.१७ प्रतिशत मात्रै बीमा शुल्क संकलन गरेका छन् । मंसिरसम्म जीवन बीमा कम्पनीहरूले पोलिसी नवीकरण शुल्क बापत ५२ अर्ब ८ करोड रुपैयाँ संकलन गरेका छन् ।

मंसिरसम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ३८ हजार ८७७ वटा रहेका छन् ।

पछिल्लो अर्थतन्त्रमा सुधारका संकेत देखिँदा बीमा व्यवसायमा पनि सुधार आएको हो । पछिल्ला महिनाहरूमा नयाँ पोलिसी बिक्री हुने क्रम बढ्दो छ ।

नेपाल लाइफकै वर्चश्व

जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सकै वर्चश्व रहेको छ । मंसिरसम्म संकलित कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले मात्रै १८ अर्ब ७६ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २८.३६ प्रतिशत हिस्सा हो ।

जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ । मंसिरसम्म यसले ७ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ७ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा १२.०७ प्रतिशत र लाइफ इन्स्योरेन्सको ११.५८ प्रतिशत रहेको छ ।

साविकका ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले मंसिरसम्म ६ अर्ब ७९ करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हो ।

मंसिरसम्म सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड, एशियन लाइफ ३ अर्ब ३६ करोड, सिटिजन्स लाइफ २ अर्ब ६५ करोड, सानिमा लाइफ २ अर्ब ५९ करोड, मेट लाइफ २ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा २ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफ १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफ १ अर्ब ९२ करोड र आइएमई लाइफले १ अर्ब ८९ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सन नेपाल लाइफले सबैभन्दा कम १ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम उठाएको छ ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको मंसिरसम्म कुल ४० करोड ३४ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.६ प्रतिशत मात्र हो । यद्यपि, पछिल्ला महिनाहरूमा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।

मंसिरसम्म गार्डियन माइक्रो लाइफले १५ करोड ५७ लाख, क्रेष्ट माइक्रो लाइफले १४ करोड ७८ लाख र लिबर्टी माइक्रो लाइफले ९ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.