add

सरकारका ऐतिहासिक कामको परिणाम छिट्टै देखिन्छ : राज्यमन्त्री मानन्धर






ActPro Nepal

|

११ साउन, २०७७

|
1041

काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महशुस गर्ने गरी देखिने बेला भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन, भैँसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार मानिस सहभागी हुनसक्ने क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनपश्चात राज्यमन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताउनुभएको हो ।

 उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठूलो भवनका रुपमा संसद् भवन बन्नु हाम्रो लागि महत्वपूर्ण विषय हो ।'

देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएका र  संरचना निर्माणपश्चात अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको प्रशंसा हुने उहाँको दाबी छ । कोरोनाका कारण काममा केही अवरोध देखिएको बताउँदै उहाँले आगामी दिनमा कामले थप निरन्तरता पाउने प्रष्ट्याउनुभयो ।

 अनुगमनका क्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयले निर्माण थालेका ठूला भवन समयमै सकिने बताउनुभयो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संघीय संसद् भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ । त्रिचालीस रोपनी क्षेत्रफलमा निर्माणाधीन सो सम्मेलन केन्द्र रु ५८ करोड लागतमा निर्माण भइरहेको छ । 

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत रहेको छ । सरसफाइका लागि समय लागेकाले केही ढिलाइ भएको मन्त्रालयका महानिर्देशक गेलालले जानकारी दिनुभयो । एक सय ७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत रु छ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ । 

त्यस्तै ललितपुरको सैँबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ ।

ती भवनको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिनुभयो । पारदर्शी ढङ्गले काम सम्पन्न हुनुपर्ने बताउँदै राज्यमन्त्री मानन्धरले सरकारको योजनाअनुसार काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयोे । -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.