add

सीमा अतिक्रमणको विषयमा दुवै देशसँग वार्ता गर्न सरकारलाई कांग्रेसको अपिल






ActPro Nepal

|

३० वैशाख, २०७७

|
947

काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले नेपाली सीमा अतिक्रमणको विषयमा चीन र भारत दुवै देशसँग वार्ता गर्न सरकारलाई अपिल गरेकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणबारे चीन र भारत दुवै देशसँग वार्ता गर्न सरकारसँग अपिल गरेका हुन् ।

भारत र चीन दुवैसँग वार्ता गरेर  उच्चस्तरीय कुटनीतिक पहलमार्फत् नेपाली भूमि रक्षा गर्न उनले अपिल गरेका हुन् ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे कांग्रेसले विगतदेखि नै स्पष्ट द‍ृष्टिकाेण राख्दै आएको उनले जानकारी दिए ।  शर्माले विज्ञप्ति निकालेर समेत सरकारलाई वार्ता गर्न सुझाव दिइएकाे बताए ।

उनले विज्ञप्तिमा लेखेका छन्-'सरकारले उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत् आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्छ ।'

विज्ञप्ति:

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर ।

उच्चस्तरीय कूटनीतिक पहलमार्फत् नेपाली भूमि रक्षा गर ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे नेपाली कांग्रेसले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा फेरि पनि हामी आग्रह गर्न चाहन्छौं सरकारले उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्दछ ।

(१) सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार हो । अतः महाकाली नदी पूर्वको भूभाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने धारणा आजको मितिमा पुनः दोहोर्‍याउन चाहन्छौं ।

(२) नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ । भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुवै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो विषयमा दुवै राष्ट्रसँग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं ।

(३) हामी संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राख्दछौं । अतः दुवै छिमेकी मित्र राष्ट्रसँग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ । सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न । अतः दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्चस्तरीय कूटीतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई फेरि पनि आग्रह गर्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता एवं प्रमुख

सूचना, संचार तथा प्रचार विभाग

नेपाली कांग्रेस



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.