काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा कमजोर सुरुआत गरे पनि मुम्बई इन्डियन्सले लय समात्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार वानखडे स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै मुम्बईले महत्वपूर्ण अंक जोडेको हो।
पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। जवाफी इनिङमा मुम्बईले ११ बल बाँकी हुँदा १६६ रन बनाउँदै लक्ष्य भेट्टायो।
मुम्बईका लागि विल ज्याक्सले ३६, रेन रिकेल्टनले ३१, सूर्यकुमार यादवले २६, र रोहित शर्माले पनि २६ रन बनाए। तिलक वर्मा २१ रनमा अविजित रहे भने कप्तान हार्दिक पाण्डेले ९ बलमा २१ रन जोड्दै टिमलाई जिततर्फ डोरेका थिए। पाण्डेको विस्फोटक पारीमा ३ चौका र १ छक्का समावेश थियो।
हैदरावादका प्याट कमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट बलिङ गरे।
यसअघि, टस हारेर ब्याटिङ गरेको हैदरावादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए।
मुम्बईका बलरहरू मध्ये विल ज्याक्सले २ विकेट, जसप्रित बुम्राह, ट्रेन्ड बोल्ट र हार्दिक पाण्डेले १–१ विकेट लिए।
यस जितसँगै मुम्बई इन्डियन्स ६ अंकसहित सातौँ स्थानमा उक्लिएको छ भने हैदरावाद ४ अंकसहित नवौँ स्थानमा झरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।