add

राजावादी आन्दोलनका संयोजक सुवेदी भन्छन् : घटनाहरूको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ






ActPro Nepal

|

१४ चैत, २०८१

|
1593

काठमाडौं ।  राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। एक भिडिओ सन्देशमार्फत सुवेदीले तीनकुने र आसपासमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले नै यसको जिम्मा लिनुपर्ने धारणा राखेका हुन्।

सुवेदीले भने, "आज जे जे भयो, हुन नपर्ने भयो। यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार हुनुपर्छ। मलाई पश्चात्ताप छ।" उनले आफूहरूको शान्तिपूर्ण प्रदर्शनलाई प्रशासनले थिचोमिचो गरेको आरोप लगाए। सुरुदेखि नै प्रशासनको अत्याचार र दमनका कारण जनमानसमा आक्रोश उत्पन्न भएको उनले बताए।

उनका अनुसार प्रदर्शनको क्रममा प्रशासनले ग्यास प्रहार गरेको र त्यसका कारण आफूलाई बस्न र बोल्न पनि नदिएको गुनासो गरे। उनले भने, "छतमा बसेर ग्यास हानियो। त्यहाँ घरभरि प्रहरी लुकाएर राखिएको रहेछ। यो कुरा थाहा पाएपछि ती घर तोडफोड पनि भयो।"

काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको राजावादी आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शनका क्रममा केही घर तथा गाडीमा आगजनी गरिएको छ भने केही पसलहरू पनि लुटिएका छन्।

सुरक्षा व्यवस्था कडा पार्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदर्शनको नेतृत्व गरेका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.