काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएको जरिवाना तत्काल फिर्ता लिन माग गरेको छ।
समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले जरिवाना फिर्ता नलिए कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन्।
सोमबार जारी गरिएको विज्ञप्तिमा डा. गुरुङले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन पूर्वराजाको आयोजनामा नभएको स्पष्ट पारेका छन्। उक्त कार्यक्रम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारको स्वीकृतिमा आयोजना गरेको उनको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, "वातावरण प्रदूषणको आरोपमा महानगरले पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाउने कुत्सित उद्देश्य राखेको छ।" समितिले यो निर्णय महानगरको आफ्नै पूर्वनीतिविपरीत र दुर्भावनायुक्त भएको ठहर गरेको छ।
डा. गुरुङले कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाले लिने उल्लेख गर्दै प्रहरी र जिल्ला प्रशासनको अभिलेखमा समेत प्रदर्शनको अनुमति प्रमाणित भएको दाबी गरेका छन्। उनले भने, "यसअघि त्रिभुवन विमानस्थलको स्वागत कार्यक्रममा आयोजकलाई पत्राचार गरेको महानगरले अहिले फरक नीति अपनाएको छ।"
संयुक्त जनआन्दोलन समितिले जरिवाना फिर्ता नभए कानुनी र अन्य बाटो अपनाइने जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.