काठमाडौं । गृह मन्त्रालयले शुक्रबार तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको आगजनी र तोडफोडको सम्पूर्ण जिम्मेवारी आन्दोलन आयोजकहरूले लिनुपर्ने स्पष्ट पारेको छ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक गतिविधिको आलोचना गर्दै क्षतिको जिम्मेवारी प्रसाईं र उनको आन्दोलन आयोजक संस्थाले नै लिनुपर्ने धारणा राखेको हो।
मन्त्रालयका अनुसार आन्दोलनको नाममा निजी संरचना र अस्पतालमा तोडफोड गर्नु अपराधीक गतिविधि हो, र यसलाई कुनै पनि हालतमा क्षमा गर्न नसकिने बताइएको छ। आन्दोलनका क्रममा भएको व्यापक क्षतिको यकिन विवरण आउने क्रम जारी रहे पनि, मन्त्रालयले यस घटनालाई गम्भीर रूपमा लिएको छ।
यसैबीच, समाजवादी मोर्चाद्वारा आयोजित आन्दोलन भने शान्तिपूर्ण भएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार समाजवादी मोर्चाको कार्यक्रममा करिब १८ हजार सहभागी भएका थिए, र कुनै पनि प्रकारको हिंसात्मक घटना भएको छैन।
गृह मन्त्रालयले निजी तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने र आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ। राजधानीको सुरक्षा व्यवस्था अझै कडा बनाइएको छ, र सुरक्षाकर्मीहरू स्थिति नियन्त्रणमा राख्न सक्रिय रहेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।