काठमाडौं । काठमाडौंमा राजसंस्थाको माग गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा गरिएको प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको छ।
तीनकुने, कोटेश्वर, जडीबुटीलगायतका क्षेत्रमा प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गर्न थालेपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना हतियारबन्द गाडीसहित सडकमा तैनाथ गरिएको छ।
प्रदर्शनले उग्र रूप लिएपछि स्थानीय बासिन्दामा त्रासको वातावरण छाएको छ। सुरक्षाको स्थिति जटिल बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै प्रमुख नाका र संवेदनशील स्थानहरूमा सैनिक र सशस्त्र प्रहरीको व्यापक परिचालन गरेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा गरिएको प्रदर्शन हिंसात्मक बन्दा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।
प्रदर्शनका क्रममा प्रसाईं समर्थकहरूले सवारी साधनमा तोडफोड र आगजनी गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्। गृह मन्त्रालयले यसअघि नै दुर्गा प्रसाईंको गतिविधिलाई क्षमायोग्य नभएको बताएको थियो। यस्तै, प्रसाईंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्न खोजेको आरोपसमेत मन्त्रालयले लगाएको छ।
सुरक्षाकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको र केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ। कर्फ्यु अवधिभर घरमै बस्न काठमाडौंवासीलाई आग्रह गरिएको छ। सेना र प्रहरीको संयुक्त टोलीले स्थिति सामान्य बनाउन प्रयासरत रहँदा घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।