add

काठमाडौँको सुरक्षा व्यवस्थामा कडाई : तीन हजार प्रहरी परिचालन हुने






ActPro Nepal

|

१४ चैत, २०८१

|
182

काठमाडौं । काठमाडौँको सडकमा आज (शुक्रबार) राजतन्त्र र गणतन्त्र पक्षधरहरूको शक्ति प्रदर्शन एकसाथ हुँदैछ।

राजावादी र समाजवादी मोर्चा दुबै पक्षले ठूला प्रदर्शनको आयोजना गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। राजावादी प्रदर्शनको नेतृत्व नवराज सुवेदीको संयोजनमा गठन भएको संयुक्त जनआन्दोलन समितिले गरिरहेको छ। यस समितिले व्यवसायी दुर्गा प्रसाईलाई आन्दोलनको कमाण्डर बनाउँदै तीनकुनेमा विशाल प्रदर्शनको तयारी गरेको छ। सुवेदी र प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरी आन्दोलनको रणनीति समेत तय गरेका छन्।

अर्कोतर्फ, गणतन्त्र पक्षधरहरूको प्रदर्शनको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पहलमा खडा भएको समाजवादी मोर्चाले गरिरहेको छ। समाजवादी मोर्चाले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुस निकाल्दै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने योजना बनाएको छ। त्यस्तै, राजावादीहरूले तीनकुनेलाई केन्द्र बनाएर कोटेश्वर, चावहिल, चक्रपथ, सातदोबाटो र भक्तपुरलगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी गरेका छन्। प्रदर्शनका क्रममा सम्भावित भिडन्त हुन नदिन नेपाल प्रहरीले व्यापक सुरक्षा योजना तयार पारेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३५ सय प्रहरी खटाउने योजना बनाएको छ। सुरक्षा कमाण्डको जिम्मेवारी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले लिएका छन्। प्रदर्शन स्थलमा प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराको नेतृत्वमा सुरक्षाकर्मीहरू परिचालित छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार सुरक्षाका लागि ५० प्लाटुन (करिब २ हजार) सशस्त्र प्रहरी परिचालित गरिनेछ। यस्तै, ट्राफिक व्यवस्थापनका लागि ७ सय ट्राफिक प्रहरी खटाइने भएको छ।

दुवै पक्षको प्रदर्शन एकै दिन र एउटै सहरमा हुन लागेकाले भिडन्तको सम्भावना रहेको भन्दै सुरक्षाकर्मीहरूले विशेष सतर्कता अपनाएका छन्। सम्भावित मुठभेडलाई रोक्न दुबै पक्षको रुटलाई स्पष्ट छुट्याइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। काठमाडौँ जिल्ला प्रशासनले प्रदर्शन शान्तिपूर्ण राख्न कडा निगरानी राख्ने जनाएको छ। सुरक्षाकर्मीहरूको टोलीले प्रदर्शनस्थलमा शान्ति सुरक्षा कायम गर्न उच्च सतर्कताका साथ काम गरिरहेको छ।

राजतन्त्र र गणतन्त्र पक्षधरको शक्ति प्रदर्शनसँगै काठमाडौँको वातावरण राजनीतिक रूपमा तातेको छ। दुवै पक्षका नेता तथा कार्यकर्ताहरू आ-आफ्नो विचार र दृष्टिकोणको पक्षमा उभिएर सडकमा निस्किएका छन्। यो प्रदर्शनले गणतन्त्र र राजतन्त्रबीचको शक्ति सन्तुलनको परीक्षण गर्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीहरूले दुवै पक्षलाई भेट हुन नदिने रणनीति अपनाए पनि राजनीतिक चर्को ध्रुवीकरणका कारण प्रदर्शनको प्रभाव लामो समयसम्म रहने देखिन्छ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने आमजनताको अपेक्षा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.