काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन गिरावट आएको छ। गत आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचकले आज पनि सोही लय कायम राख्दै ५३.०४ अंकले घटेर २६१६.२६ बिन्दुमा पुगेको छ। गत साता ६६ अंकले घटेको नेप्से आज एकैदिन ठूलो गिरावट आएको हो।
आजको कारोबारमा ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। बजारमा कारोबार भएका १३ वटै समूहको परिसूचक घटेको छ, जसमा फाइनान्स समूहको परिसूचक सर्वाधिक २.९८ प्रतिशतले ओरालो लागेको छ।
आज पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रि इन्स्योरेन्स अगाडि रहेको छ। यसको ४२ करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बजारमा आएका कम्पनीमध्ये १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३० कम्पनीको मूल्य घटेको छ। सबैभन्दा बढी मूल्य वृद्धि हुने कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य २.६८ प्रतिशतले बढेको छ। तर, मिथिला लघुवित्तका सेयरधनीहरूले भने ठ्याक्कै १० प्रतिशत घाटा बेहोर्नुपरेको छ।
त्यस्तै, भूगोल इनर्जीको ७.२७ प्रतिशत, सयपत्री हाइड्रोपावरको ६.४८ प्रतिशत, माया खोला हाइड्रोपावर तथा अपर सोलु हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ। लगातारको गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढेको छ भने बजार स्थायित्वबारे अन्योल उत्पन्न भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।