चितवन । चितवनमा उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो ।
भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मनी निर्यात गर्न थालिएको संघका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।’ सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उनले बताए ।
तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ । उनले भने, ‘सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।’
सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए । गाजर १५० टन विदेश निर्यात गरिनेछ । उनका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनीबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।
यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ । जर्मनी जाने गाजर प्रतिकिलो २० रुपैयाँ र चुकन्दर ५० रुपैयाँमा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात सुरु भएको बताउँदै उनले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गरे ।
उनले भने, ‘अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।’ यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौं लगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।