काठमाडौं । चैत महिनाको प्रारम्भदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको छ। यो साता आइतबार २१.६३, सोमबार १०.१४ र मंगलबार ७.६६ अंकले घटेको बजार बुधबार पनि ओरालो लाग्दै १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा पुगेको छ।
बुधबारको कारोबारमा कुल ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सोही दिन ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
लगातार २११.०१ अंकको वृद्धिपछि बजार पुनः ओरालो लागेको थियो, जसका कारण पछिल्ला दिनमा १७१.०७ अंकले गिरावट आएको छ। गएको साता बुधबार भने बजारमा दोहोरो अंकको वृद्धि देखिए पनि त्यसयता पुनः ओरालो यात्रामा छ।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजार साउन महिनाभरि उछाल आएको थियो। साउन ३१ गते ३०००.८१ बिन्दुसम्म पुगेको बजार भदौमा भने स्थिर हुन पुगेको थियो। असोज महिनामा बजारमा केही सुधार आए पनि कात्तिकदेखि निरन्तर ओरालो लागेको देखिएको छ। लगानीकर्ताहरूले बजारले नयाँ उचाइ लिने अपेक्षा राखे पनि मंसिर र पुसमा समेत सो अपेक्षा पूरा हुन सकेन।
गत माघमा सेयर बजारमा ९१.६ अंकको सुधार देखिएको थियो भने फागुनमा ५०.७५ अंकले वृद्धि भएको थियो। पछिल्ला दुई महिनामा सुधारको संकेत देखिएको भए पनि चैत महिनामा भने सेयर बजारमा अपेक्षाकृत सुधार आउन सकेको छैन। यसले गर्दा लगानीकर्ताहरू अन्योलमा परेका छन्।
बजारको अवस्था हेर्दा आगामी दिनमा सुधार हुने वा अझ ओरालो लाग्ने भन्ने विषयमा लगानीकर्ताहरू चिन्तित छन्। अर्थशास्त्रीहरूका अनुसार बजारमा स्थिरता ल्याउन सरकार तथा सम्बन्धित निकायले उचित नीतिगत पहल गर्न आवश्यक देखिन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.