काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिक्ततापूर्ण भेटपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन्। अमेरिकाबाट निराश फर्किएका जेलेन्स्कीलाई बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आत्मीय स्वागत गरेका छन्।
बीबीसीका अनुसार डाउनिङ स्ट्रिटमा भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने सम्झौता भएको छ। यो सहायता बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी गरिनेछ।
प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै रुसको आक्रमणविरुद्ध युक्रेनलाई सशक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। जेलेन्स्कीले पनि बेलायतलाई "युक्रेनका असल साथी" को संज्ञा दिँदै बेलायती समर्थनप्रति कृतज्ञता व्यक्त गरे।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले विभिन्न रुसी सम्पत्तिहरू रोक्का गरेको थियो। अब ती सम्पत्तिबाटै युक्रेनलाई सैन्य सहायता दिने निर्णय भएको हो।
यस सम्झौताले युक्रेनलाई थप बलियो बनाउने र रुसविरुद्धको युद्धमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।