add

केआइआइटीले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाए पनि त्रासमा नेपाली विद्यार्थी






ActPro Nepal

|

६ फागुन, २०८१

|
79

काठमाडौं । भारतको उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूलाई  निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालयले सूचना नै जारी गरेर नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो ।

चौतर्फी विरोधपछि विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन सुचारु गर्न अपील गरेको हो । केआइआइटी प्रशासनले शैक्षिक गतिविधिहरू सुचारु गर्न क्याम्पस र छात्रावासमा सामान्य अवस्था ल्याउन प्रयास गरिरहेको बताएको छ । 

साथै विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ । केआइआइटीले नेपाली विद्यार्थीहरूमाथि दमन गरेर निष्कासन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

भारतस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरी प्रकृति लम्सालको मृत्युसम्बन्धमा निष्पक्ष छानबिन गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारतको केन्द्र सरकार, राज्य सरकार र विश्वविद्यालय प्रशासनसँग निरन्तर संवाद भइरहेको बताएको थियो । यता नेपालमा पनि घटनाको चौतर्फी विरोध भइरहेको छ । 

त्रासमा नेपाली विद्यार्थी 

केआइआइटीले निष्कासन गरीएका नेपाली विद्यार्थीलाई पुनः होस्टल फर्कन आग्रह गरेपनि नेपाली विद्यार्थी त्रासपूर्ण अवस्थामा छन् । होस्टलबाट जवरजस्ती निकालिएका विद्यार्थीहरु फेरि होस्टल फर्कन सक्ने वातावरण नभएको बताउँछन् । ‘हामीलाई होस्टलबाट दुव्र्यवहार गरेर निकालिएको थियो । फेरि फर्कदा उस्तै व्यवहार नहोला भनेर कसरी मान्नु ?’ होस्टलबाट निकालिएका एक विद्यार्थीले भने । उनले नेपाली विद्यार्थीहरुको पूर्ण रुपमा सुरक्षाको ग्यारण्टी गर्नुपर्ने माग गरेका छन् । 

‘बाहिरी रुपमा विश्वविद्यालयले जे भने पनि भित्र रुपमा नेपाली विद्यार्थीलाई चरम विभेद गरीरहेको छ,’ उनले भने, ‘हामी हेपिएको, कुटिएको अवस्थामा त्यहाँबाट लखेटिन बाध्य भयौँ । विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारपूर्ण जवाफ अहिले सामाजिक संजालमै आइसकेको छ । त्यसमा पनि देख्न सकिन्छ ।’

फेरि होस्टल फर्कदा फेरि उस्तै व्यवहार हुने त्रासमा रहेको उनले बताए । यसका लागि नेपालका निकायले सहज वातावरण बनाइदिनुपर्ने उनको माग छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.