add

इतिहासकै ठूलो आइपीओ जारी गर्दै विद्युत् प्राधिकरण, पायो ‘डबल ए प्लस’ रेटिङ






ActPro Nepal

|

४ फागुन, २०८१

|
3465

काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रूपमा समेत स्थापित भएको छ ।

अधिकांश सरकारी स्वामित्वका संस्थान वित्तीयरूपमा सङ्कटग्रस्त भइरहेका बेला प्राधिकरणले भने निरन्तर सफलता हासिल गर्दै गएको छ ।

यसैक्रममा, सोही क्रममा प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ भन्ने हो । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यूनमात्रामा ऋण भुक्तानी जोखिम हुन्छ ।

‘डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहीत जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ,’ इक्रा नेपाल लिमिटेडले उल्लेख गरेको छ ।

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा नीहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा राय दिइन्छ ।

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणले उच्च स्तरको रेटिङ पाएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेडिङमा विगत तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवम् ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । साथै, प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरे ।

घिसिङले भने ‘सर्वसाधारणलाई सेयर निश्कासनका लागि महत्वपूर्ण मापदण्डको रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौं, सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, सेयर निश्कासनबाट संकलन गरिएको रकमलाई ठूला विद्युत् जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौं ।’

उनले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र सेयर निश्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे ।

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ ।

सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज–साँवा पूँजीकरण) र अन्य आवश्यक रकम/सञ्चालनमार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ ।

प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो ।

इतिहासकै ठूलो आइपीओ जारी गर्दै

प्राधिकरणको नेपाली सेयर बजार इतिहासकै ठूलो प्राथमिक साधरण सेयर जारी गर्ने भएको छ । प्राधिकरणले प्रिमियम मूल्यमा ६० अर्ब रुपैयाँ बढीको आइपीओ जारी गर्ने भएको हो ।

प्राधिकरणले चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासन प्रस्ताव गरिएको छ ।

प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३०० रुपैयाँ कायम गरी सेयर निश्कासनको प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ ।

११ हजार मेगावाटको आयोजनाको पीपीए

प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरूले निर्माण गर्ने जलविद्युत आयोजनाहरूसँग झण्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ ।

प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ ।

संचित नाफा साढे ४७ अर्ब

विद्युत् प्राधिकरण गत आर्थिक वर्ष प्राधिकरणले गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

आर्थिक वर्ष आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा प्राधिकरणले २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले नाफाको इतिहास सुरु गरेको थियो ।

आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।

प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । आव २०७२/७३मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.