ललितपुर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले समावेशीकरणलाई मजबुत बनाउने गरी निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले कुनै पनि पार्टीले बहुमत नपाउँदा राजनीतिक स्थायित्व र सरकारको उत्तरदायित्व सुनिश्चित गर्न कठिन हुने तर्क गरे।
‘निर्वाचन प्रणालीकै कारण २०७४ सालको चुनावमा कांग्रेसले ३३ प्रतिशत मत पाएर पनि केवल २३ सिट जित्यो। जबकि २०७८ सालको निर्वाचनमा २६ प्रतिशत मत पाएर गठबन्धनका कारण प्रत्यक्षतर्फ ५७ सिट जित्न सफल भयो,’ उनले भने।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसबीच २०७४ सालको निर्वाचनमा भोटको अन्तर आधा प्रतिशत मात्र भए पनि एमालेले गठबन्धन गरेकाले धेरै सिट जितेको उल्लेख गरे। ‘ओलीले गठबन्धन गरेकाले ८० सिट जिते, हामीले २३ सिट मात्रै जित्यौँ। यसैले निर्वाचन प्रणाली पुनरावलोकन गर्न आवश्यक छ," उनले थपे।
डा. रिजालका अनुसार २०१५ सालदेखि कुनै पनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको हुँदा ‘बहुमत नभए स्थिरता आउँदैन’ भन्ने तर्क उचित नहुने बताए। उनले १६५ निर्वाचन क्षेत्र कायम राख्दै समानुपातिक सिट संख्या ६० पुर्याउनुपर्नेमा जोड दिए। ‘सजिलै चुनाव जित्नेहरू समानुपातिक प्रणालीबाट आउनुहुँदैन। बरु निर्वाचन जित्न कठिन हुने समुदायलाई संसद्मा प्रवेशको अवसर दिनुपर्छ,’ उनले स्पष्ट पारे।
उनले २०७२ सालदेखि तीन नेताले पालैपालो प्रधानमन्त्री बनेको अवस्थालाई व्यंग्य गर्दै भने, ‘तीन जना नेताहरू एउटै पार्टीका जस्तो देखिए, बाँकी सबै अर्कै पार्टीका भए। यस्तो अवस्था आउनुमा कसको जिम्मेवारी छ भन्ने टुंगो लगाउन पनि निर्वाचन प्रणालीमा सुधार आवश्यक छ।’
नेता डा. रिजालले समावेशी, स्थायित्वयुक्त र उत्तरदायी सरकारका लागि निर्वाचन प्रणालीमा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।