काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्। ‘वहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। वहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ,’ वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने।
मोदीले ‘भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित’ गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे। ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो।
अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जबाफी उपाय ट्रम्पले अघि सारेका छन्।
वर्षौँको व्यक्तिगत सम्बन्ध
व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ। ‘हाम्रो गजबको सम्बन्ध छ,’ अमेरिकाको राजधानीमा बिहीबार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने।
उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ-३५ लडाकु जेट समेत दिने बताए। आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो जसक्रममा ट्रम्पले भारतलाई हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो।
यसअघि मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए।
मोदीले भने: ‘ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोबर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।’ आफूहरू बीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए जुन उनले एप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए।
‘साझेदार शत्रुभन्दा खराब‘
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आयात शुल्कका कुरा आउँदा ‘हाम्रा साझेदारहरू हाम्रा शत्रुहरूभन्दा खराब छन्’ भने। मोदीलाई भेट्नुअघि रिपब्लिकन दलका तर्फबाट निर्वाचित राष्ट्रपतिले ‘हामीसँग निकै अनुचित प्रणाली थियो’ भने। ‘सबैले अमेरिकाको फाइदा उठाए।’
ह्वाइटहाउसले जारी गरेको एउटा नयाँ विज्ञप्तिमा कृषिका सामानमा अमेरिकाले सबैभन्दा एमएफएन भनिने उच्च सहुलियत दिएका देश (मस्ट फेभर्ड नेसन) लाई औसतमा ५ प्रतिशत आयात शुल्क लगाइएको जनाइएको थियो।
‘तर व्यवहारिक रूपमा भारतको औसत शुल्क ३९ प्रतिशत छ,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ। ‘भारतले अमेरिकी मोटरसाइकलमा शतप्रतिशत आयात शुल्क लगाउँछ जबकि हामीले भारतीय मोटरसाइकलमा २.४ प्रतिशत शुल्क लगाउँछौँ।’
महँगीको चिन्ता
बिहीबार ट्रम्पले आफ्नो आयात शुल्कको नीतिले निम्त्याउने जोखिमलाई आफूले बुझेको बताएका थिए। अर्थशास्त्रीहरूले त्यस्ता आयात करहरूले उपभोक्ता मूल्यहरू बढाउन सक्ने चेतावनी दिँदै आएका छन्।
‘मूल्य केही हदसम्म बढ्न सक्छ, छोटो अवधिका लागि, तर मूल्य तल पनि झर्नेछ,’ ओभल अफिसमा उनले भने। तर उनले आफ्नो नीतिले अमेरिकी उत्पादनलाई बढवा दिने र देशमा ‘प्रशस्त रोजगारी सिर्जना हुने’ तर्क गरे।
ट्रम्पले यसअघि नै चीनमाथि थप १० प्रतिशत आयात शुल्क लगाएका छन्। उनले अमेरिकाका दुई ठूला व्यापार साझेदार देश क्यानडा र मेक्सिकोमाथि पनि मार्च महिनाबाट आयात शुल्क लगाउने तयारी गरे तापनि त्यो हाल ३० दिनका लागि रोकेका छन्। सोमबार उनले आफ्नो सन् २०१८ को स्टील र एल्यूमिनिअमका हकमा कायम गरिएको आयात शुल्क छुट हटाए। बीबीसी
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।