add

लक्ष्यभन्दा २ खर्ब कम राजस्व संकलन,पूँजीगत खर्च दयनीय






ActPro Nepal

|

२ फागुन, २०८१

|
100

काठमाडौं । सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । माघ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको ४५ प्रतिशत मात्रै राजश्व उठाउन सकेको छ भने करिब ४४ प्रतिशत बजेट खर्च गर्न सकेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालु आवको ६ महिना कुल ६ खर्ब ४२ अर्ब ८५ करोड ३९ लाख राजश्व सङ्कलन गरेको छ । जसमा करबाट ५ खर्ब ६५ अर्ब र गैरकरबाट ७७ अर्ब २१ करोड रुपैयाँ उठाएको छ । त्यस्तै, अन्य शिर्षकमा ८ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

सरकार चालु आवमा लक्ष्य अनुसार भने राजस्व उठाउन असफल भएको छ । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । सो अनुसार औसतमा मासिक १ खर्ब १८ अर्ब २७ राजस्व उठाउनु पर्छ । लक्ष्य अनुसार ७ महिनामा ८ खर्ब २७ रुपैयाँ ८९ करोड रुपैयाँ राजस्व उठाउनुपथ्र्यो ।

तर, सरकारले माघसम्म ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको छ । राजस्व संकलनमा सरकार लक्ष्यभन्दा १ खर्ब ८५ अर्ब ४ करोड रुपैयाँ पछि छ । सरकारले चालु आवको कुनै पनि महिना राजस्वको लक्ष्य भेटाउन सकेको छैन ।

पूँजीगत खर्च अति न्यून

लक्ष्य अनुसार राजस्व उठाउन नसकेको सरकारले विकास खर्च पनि गर्न सकेको छैन । ७ महिनामा जम्मा ६८ अर्ब ४१ करोड रुपैयाँ मात्रै पूँजीगत खर्च भएको छ । यो लक्ष्यको १९.४२ प्रतिशत मात्रै हो । चालु आवमा सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।

पूँजीगत खर्च गर्न नसकेको सरकारको चालु खर्च भने केही बढी नै भएको छ । चालुगत शीर्षकमा माघ मसान्तसम्मको खर्च ४५.८२ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म ५ खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४४.६ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म १ खर्ब ६३ अर्ब ८१ करोड १२ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

चालु आवको ७ महिनामा सरकारले कुल ७ खर्ब ५४ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४०.५८ प्रतिशत हो ।

चालु आवको ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब १२ अर्ब धेरै रहेको छ ।

अनुदान प्राप्ति पौने ९ अर्ब

चालु आवको मंसिरसम्म वैदेशिक अनुदान प्राप्ति शून्य रहेकोमा पछिल्ला दुई महिनामा भने केही सधार देखिएको छ । पुस र माघमा गरेर सरकारले करिब ९ अर्ब रुपैयाँ अनुदान पाएको छ । सरकारले चालु वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म ८ अर्ब ८२ करोड रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको १६.८७ प्रतिशत मात्र हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.