काठमाडौं । जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।
बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा १४.९१ प्रतिशतले बढेको हो ।
हाल संचालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु वर्षको पुस मसान्तसम्म कुल ३ अर्ब २२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४१ करोड ७८ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म जीवन बीमा कम्पनीले कुल २ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिमा अधिकांश कम्पनीको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । कोभिडपछि शिथिल बनेको बीमा व्यवसाय पछिल्लो समय सुधार हुँदै गएको छ । यसले कम्पनीहरूको आम्दानी बढाएको छ ।
पछिल्लो समय निक्षेपको ब्याजदर घट्दा ब्याज आम्दानी घटे पनि पोलिसी धितोमा प्रवाह गर्ने कर्जा रकम बढाउँदा समग्रमा आम्दानी बढेको हो ।
१२ कम्पनीको नाफा बढ्यो
समीक्षा अवधिमा १४ मध्ये १२ जीवन बीमा कम्पनीको खुद नाफा बढेको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ इन्स्योरेन्सको मात्र नाफा घटेको छ ।
दोस्रो त्रैमासमा सिटिजन लाइफको नाफा सर्वाधिक ८६.७८ प्रतिशतले बढेको छ । त्यस्तै, एशियन लाइफको ५६.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ५१.७० प्रतिशत, मेट लाइफको १४.८१ प्रतिशत नाफा बढेको छ ।
त्यसैगरी, नेपािल लाइफको ९.४५ प्रतिशत, नेशनल लाइफको ९.४० प्रतिशत, हिमालयन लाइफको ८.७३ प्रतिशत, सानिमा लाइफको ५.४४ प्रतिशत, लाइफ इन्स्योरेन्सको ३.८१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.४९ प्रतिशत र सूर्यज्योति लाइफको ३.३७ प्रतिशतले नाफा बढेको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सर्वाधिक ४३.५५ प्रतिशतले घटेको छ । त्यस्तै, सन नेपाल लाइफको १४.०५ प्रतिशतले घटेको छ ।
नेपाल लाइफ बन्यो सर्वाधिक कमाउने
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा ९.४५ प्रतिशतले नाफा बढाएको नेपाल लाइफले पुससम्म ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, हिमालयन लाइफले ३७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । पुससम्म रिलायबल नेपाल लाइफले ३५ करोड ३ लाख, सन नेपाल लाइफले २८ करोड २२ लाख, नेशनल लाइफले २७ करोड ९१ लाख, एशियन लाइफले २५ करोड ३ लाख, सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख र सिटिजन लाइफले २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, मेट लाइफले २२ करोड २५ लाख, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ करोड १८ लाख नाफा कमाएको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम ८० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।