काठमाडौं। अर्थ मन्त्रालयले एकैपटक १४ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ । अर्थ मन्त्रालयले यसअघि योजना अनुगमन तथा मूल्यांकन महाशाखामा रहेका भट्टराईलाई भन्सारको प्रमुख बनाएको हो ।
त्यस्तै, राजश्व विभागको महानिर्देशकमा मदन दाहाललाई जिम्मेवारी दिइएको छ। उनी यसअघि प्रशासन महाशाखा प्रमुख थिए ।
त्यसैगरी, आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्यलाई तालिम प्रमुख बनाइएको छ। उनलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ। तीर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाइएको छ।
त्यस्तै, थानप्रसाद पंज्ञानी वित्तीय संघीयता समन्वय महाशाखाबाट प्रशासन महाशाखामा सरुवा गरिएको छ। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव शोभाकान्त पौडेललाई मन्त्रालय ल्याइएको छ र आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ।
पार्वती अर्याललाई प्रमुख भन्सार परीक्षण प्रशासक भन्सार जाँचपास पछिको परीक्षण कार्यालयमा जिम्मेवारी तोकिएको छ भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराललाई वित्रीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ भने महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक श्यामप्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ। सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा पठाइएको छ।
यमुना प्रधानलाई महालेखा नियन्त्रकको कार्याल्यमा सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ भनेआन्तरिक राजस्व विभागका उपमहानिर्देशक गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।