ललितपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) पाटन संयुक्त क्याम्पस इकाईका विद्यार्थीहरुले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् ।
वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रंगरोगनका साथै साझसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेको हो । विद्यार्थीहरुले खाजा खर्च कटाएर दिएको करिव १० लाख रुपैयाँको लागतमा क्याम्पसको जिर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसंघ पाटन इकाईका सभापति तारा शर्माले जानकारी गराए ।
नेविसंघले बुधबार क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी क्याम्पसमा विद्यार्थीको आकर्षण वृद्धि, शैक्षिकस्तर सुधारका लागि गर्ने प्रयास, सरसफाइ तथा भौतिक पूर्वाधारको व्यवस्थापनका लागि अबको एक बर्षभित्र सम्पन्न गर्ने गरिने प्रयास र पहलकदमीको बारेमा जानकारी गराएको हो ।
नेविसंघले पुनःनिर्माण गरेको पुस्तकालयको उद्घाटन उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै क्याम्पस प्रशासनलाई विधिवत रुपमा हस्तान्तरण भएको जानकारी दिए।
पुस्तकालय हस्तान्तरण पश्चात मन्तव्य राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिले राम्राे विषय पढ्नका लागि नेपालमै सम्भव भएकाे भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए।
उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सिमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनाैटमा धेरै विकल्प रहेकाे पनि बताए । "अहिले शिक्षाकाे गुणस्तरलाई लिएर प्रश्न गरिन्छ । अहिले तपाईहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन् । पहिले त त्यति थिएन।" उपप्रधानमन्त्री सिंहले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकरात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गरे । उनले नवनियुक्त क्याम्पस प्रमुख डाक्टर रघुबीर बिष्टलाई बधाई दिँदै क्याम्पसको साख जोगाउने गरि काम गर्न आग्रह गरे ।
नेविसंघ पाटन इकाईका सभापति शर्माले गतबर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरेको जानकारी गराउँदै प्रत्येक शुक्रबार ५२ हप्तासम्म क्याम्पस हाताभित्र सरसफाइ अभियान चलाएको बताए।
"हामीले ४५ दिनसम्म रचनात्मक आन्दोलन गर्दा पनि क्याम्पसमा सुधार हुन सकेन, त्यसपछि हामीले नै रकम जुटाएर काम गर्यौं, अब आन्दोलन र तालाबन्दी भन्दापनि रचनात्मक कामबाट परिवर्तन गर्नुपर्छ भनेर नेविसंघ लागेको छ।" उनले भने ।
विद्यार्थीले पुनःनिर्माण गरेर हस्तान्तरण गरेको पुस्तकालयको निरन्तरताका लागि क्याम्पस प्रशासनको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले विद्यार्थीहरुले सहज रुपमा अध्ययन गर्ने अवसरका लागि कक्षाकोठाको व्यवस्थापन र सबै विद्यार्थीलाई समान व्यवहार सहित समान सुविधा हुनुपर्नेमा जोड दिए ।
"कसैलाई थर्काएर, धम्क्याएर हैन, हामीले आफ्नै खाजा खर्चबाट काम गरेको छौँ, अझै नयाँ काम गर्नेछौं, लाइब्रेरी बनाउन प्रयत्नशील रहनेछौं, विद्यार्थीहरुलाई क्याम्पसका गतिविधि जानकारी दिन अनलाइन सूचना प्रणाली व्यवस्थापन गर्न पहल गर्नेछौं।" उनले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।