add

बैंक निक्षेपमा नयाँ उचाइ: साढे ६७ खर्ब, कस्को हिस्सा?






ActPro Nepal

|

२९ माघ, २०८१

|
363

काठमाडौं । पछिल्लो २ वर्ष यता बैंकिङ प्रणालीमा लगातार निक्षेप बढ्दो क्रममा छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा लगानी बढ्न नसक्दा बैंकमा पैसा थपिने क्रम बढिरहेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप झण्डै साढे ६७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६७ खर्ब ३७ अर्ब ५९ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

चालु आवको ६ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थामा २ खर्ब ४२ अर्ब ६५ करोड ७ लाख रुपैयाँ निक्षेप थपिएको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधरण (व्यक्तिगत), गैर बैंक तथा वित्तीय संस्थाहरू, सरकारी संस्थानहरू, गैरसरकारी संस्थान, अन्तर बैंक निक्षेप र अन्य प्रकृतिका संस्थाहरूले उक्त रकम निक्षेप (वैदेशिक मुद्रासहित)मा राखेका हुन् ।

रेमिटेन्समा आप्रवाहमा वृद्धि र आयात घट्नु, पर्यटकको आवगन बढ्नु लगायत कारणले प्रणालीमा लगातार निक्षेप बढिरहेको हो । यद्यपि, निक्षेप बढे पनि अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग भने बढ्न सकेको छैन

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षे देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो रहेको छ । बैंकमा रहेको निक्षेप जीडीपीको १२५.१९ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको रहेको कुल निक्षेप मध्ये सबैभन्दा धेरै मुद्दती निक्षेप रहेको छ । कुल निक्षेपको आधाभन्दा बढी अर्थात् ५२.५ प्रतिशत (३५ खर्ब ३७ अर्ब रुपैयाँ) मुद्दती निक्षेप छ ।

यद्यपि, पछिल्लो समय निक्षेपको ब्याजदर लगातार घटेकाले मुद्दती निषेपको हिस्सा घट्दै गएको छ । त्यस्तै, कुल निक्षेपमा चल्ती निक्षेप ५.६ प्रतिशत र बचत निक्षेपको हिस्सा ३४.१ प्रतिशत रहेको छ ।

बैंकमा कसको कति छ पैसा ?

बैंक तथा वित्तीय संस्थामा सबैभन्दा धेरै निक्षेप सर्वसाधरण (व्यक्तिगत)को रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेप ४२ खर्ब ३८ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो कुल निक्षेपको ९२.९० प्रतिशत हो ।

चालु आवको ६ महिनामा मात्रै सर्वसाधारणको निक्षेप ४.९ प्रतिशतले बढेको हो । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थामा रहेको ३५ प्रतिशत निक्षेप मात्रै संस्थागत रहेको छ । जसमा गैर बैंकिङ, संस्था, सरकारी संस्थानहरू, गैरसरकारी संस्था लगायत रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा गैर आवासीय निक्षेप ७६ अर्ब ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । जसमा वैदेशिक मुद्राको हिस्सा २१ अर्ब ३१ करोड रुपैयाँ छ । त्यस्तै, पुससम्म आवासीय वैदेशिक मुद्राको निक्षेप १ खर्ब ३१ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ रेहेका छ । यस वर्ष आवासीय वैदेशिक मुद्राको निक्षेप ३९.१ प्रतिशतले बढेको छ ।

बैंकिङ प्रणालीमा गैर बैंक तथा वित्तीय संस्थाहरू (बीमा कम्पनी, नागरिक लगानी र कर्मचारी संचय कोष) को निक्षेप १२ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरूको ६ खर्ब २८ अर्ब ११ करोड रुपैयाँ निक्षेप रहेको छ । चालु आवमा बीमा कम्पनीहरूको निक्षेप ४.४ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा कर्मचारी संचय कोषको निक्षेप १ खर्ब ८१ अर्ब ७२ करोड र नागरिक लगानी कोषको निक्षेप १ खर्ब २३ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको छ । अन्य गैरबैंकिङ संस्थाको निक्षेप २ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थामा सरकारी संस्थानहरूको ३ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ र गैरसरकारी संस्थानहरूको ४ खर्ब २० अर्ब १४ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । चालु आवको ६ महिनामा सरकारी संस्थानको निक्षेप ०.८ प्रतिशतले घटेको छ भने गैरसरकारी संस्थानको निक्षेप ०.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा अन्तर बैंक निक्षेप ४६ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गैर नाफामुखी संस्थाहरूको निक्षेप १ खर्ब ७७ अर्ब ५६ करोड रुपैयाँ छ । चालु आवमा यस्ता संस्थाको निक्षेप १०.६ प्रतिशतले घटेको छ । यस अवधिमा अन्य प्रकृतिको निक्षेप ८२ अर्ब ७९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.