add

जाजरकोटमा संचालनमा आयो जडीबुटी प्रशोधन केन्द्र, बजारीकरणमा सहज हुने






ActPro Nepal

|

२७ माघ, २०८१

|
38

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरू गरिएको छ ।

विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरू भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरू भएको हो ।

हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे ४ टन खरिद गरी प्रशोधन गरिएको उनले बताए ।

‘पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडीबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य छ,’ उनले भने ।

प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–१ र ३ राताचौरमा निर्माणपछि स्थानीयस्तरमा रोजगारी सिर्जना र भेरी करिडोर हुँदै जिल्लाबाहिर जाने जडीबुटी जिल्लामै प्रशोधन गरी बजारीकरण गर्न सहज भएको छ । यसबाट स्थानीय नागरिक पनि उत्साहित भएका छन् ।

कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै त्यसको यही प्रशोधन हुनेछ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.