add

नेपाली मुद्रा झन्झन कमजोर, डलरको मूल्य कीर्तमानी १४० रुपैयाँ नाघ्यो






ActPro Nepal

|

२४ माघ, २०८१

|
131

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूलयले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १४०.२५ रुपैयाँ पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि माघ २२ गते अमेरिकी डलरको भाउ १३९.८० रुपैयाँ पुगेको थियो। त्यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३९.६५ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्व बजारमा डलरको माग बढेसँगै मूल्य आकाशिएको हो । अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धन लगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलरको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.